कांग्रेस जिल्ला सभापतिहरूको भेला चैत अन्तिम साता

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला गर्ने तयारी शुरु भएको छ ।

महासमिति बैठकले पारित गरेको विधानलाई केन्द्रीय समितिले तोडमोड गरेको भन्दै असन्तुष्ट जिल्ला सभापतिहरूले फेरि जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको तयारी थालेका हुन् ।

मंगलबार राजधानीमा भेला भएका ११ जिल्लाका जिल्ला सभापतिहरूले केन्द्रीय समितिले आफूअनुकूल हुने गरी विधानलाई तोडमोड गरेर पारित गरेको भन्दै २० देखि २५ चैतभित्रै सभापति भेला गर्ने निर्णय गरेका छन् ।

१२ फागुनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानलाई बहुमतका आधारमा पारित गरेको थियो ।

जिल्ला सभापतिहरूले विधानमा केन्द्रीय तहका नेताहरू महाधिवेशन प्रतिनिधि बन्न बुथ तहबाटै निर्वाचित हुनुपर्ने गरी व्यवस्था गर्न माग गर्दै आएका थिए ।

एक पटकभन्दा बढी समानुपातिक तथा समावेशी कोटाबाट कुनै पनि पदमा उम्मेदवार बन्न नपाइने गरी विधानमा नै व्यवस्था गर्न भनेका थिए ।

केन्द्रीय समितिले भने महासमितिबाट समेत पास भएको सो विषयलाई केन्द्रीय समितिबाट उल्टाउँदै सभापतिहरू र महासमितिको म्यान्डेटविपरीत निर्णय गरेको जिल्ला

सभापतिहरूले आरोप लगाउँदै आएका छन् । नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले जिल्ला सभापतिहरूको राष्ट्रिय भेला बोलाउने गृहकार्य थालेका हुन् ।
असन्तुष्ट जिल्ला सभापतिहरूले चैतको २० देखि २५ गतेभित्रै भेला गर्ने तयारी गरेका छन् ।

काठमाडौं सभापति सबुज बानियाँले देशभरका सभापति बसेर आफ्ना एजेन्डालाई अघि बढाउने विषयमा भेलाको तयारी भएको र काठमाडौं वा सिन्धुपाल्चोकमा भेला हुने जानकारी दिएका छन् ।

यसअघि मकवानपुरको हेटौंडामा र नुवाकोटको ककनीमा जिल्ला सभापतिहरूको भेला आयोजना गरिएको थियो ।

हेटौंडामा केन्द्रीय तहको तयारीबाटै भेला बोलाइएको थियो भने ककनीमा जिल्ला सभापतिहरू आफैंले भेला डाकेका थिए ।

मंगलबार भएको छलफलमा भने खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, काभ्रेका मधु आचार्यलगायत ११ जिल्लाका सभापतिको उपस्थिति रहेको थियो ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा समूहबाहेकका नेताहरू समेत सोही पक्षमा देखिएका थिए ।

सोही विषयमा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलासमेत गरी करिब एक दर्जन नेताहरूले केन्द्रीय समितिको सो निर्णयमा नोट अफ डिसेन्टसमेत लेखेका थिए ।

Published : Wednesday, 2019 March 20, 11:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया