ओलीको ‘धुन्धुकारी’ कार्यको कांग्रेसद्वारा जबरजस्त विरोध

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले केही गम्भीर प्रश्न जन्माएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रिय सुरक्षा परिषदलाई संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको लाचार छाँया बनाउने प्रस्ताव गलत र गम्भीर रहेको बताएका छन् । उनले कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले शक्तिको अधिकतम विन्यासको लोकतान्त्रिक मान्यताभन्दा विलकुलै विपरीत कार्य गरेको जनाएका हुन् ।

‘संविधानको धारा २६७ को उपधारा ६ भन्छ सुरक्षा परिषद्को सिफारिशमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुनेछ । संविधानको यो प्रष्ट व्यवस्थाको ठाडो उल्लंघन गरेर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक पनि छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो तर कुनै निश्चित विषयलाई कारणका रुपमा अघि सारेर राज्यले नै संविधानको प्रष्ट प्रावधान, मर्म र भावनाको बर्खिलाफ हुने गरी विधेयक प्रस्ताव गर्नु अत्यन्तै गम्भीर विषय हो ।’

‘हाम्रो संविधानले प्रधानमन्त्रीलाई मुलुकको नेतृत्व बलियो ढंगले गर्न पर्याप्त अधिकार सुरक्षित गरेकै छ तर कहिले प्रधानमन्त्री कार्यालयमा कयौं संस्था र शक्ति थप गर्ने अनि कहिले सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कर्मले अधिनायक बन्ने आकांक्षालाई थप पुष्टि गरेको मात्रै छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्रीका अलावा रक्षा, गृह, अर्थ र परराष्ट्र मन्त्री, नेपाल सरकारका मुख्य सचिव एवं प्रधान सेनापति सदस्य रहने व्यवस्था छ’, शर्माले भनेका छन्, ‘कुनै राष्ट्रिय संकट उत्पन्न हुँदा परिषद्को बैठक बस्न नसक्ने परिस्थितिको कल्पना गर्न सकिन्न ।’

नेपाली कांग्रेसले भनेको छ, ‘त्यस्तो स्थितिको कल्पना विधेयकमा गरिनु र सुरक्षा परिषद्को बैठक नबसी सेना परिचालन गर्न मिल्ने व्यवस्था गरिनु नेपाली सेनाको नेतृत्वलाई सरिक नगराई सेना प्रयोगको गम्भीर मोडमा पुग्नु पनि हो र राष्ट्रिय सुरक्षाको दृष्टिले यो अत्यन्तै संवेदनशील विषय हो ।’

‘प्रस्तुत विधेयक परिमार्जन नगरी मौजुदा स्थितिमै पारित गर्ने विषयमा नेपाली कांग्रेसको गम्भीर असहमति रहनेछ’, नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको आलोचना गर्दै भनेको छ, ‘लोकतान्त्रिक संविधानको दीर्घ जीवनलाई गम्भीर असर गर्ने दिशामा अघि नबढ्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ ।’

नेपाली सेनालाई राजनीतिक हस्तक्षेप हुने गरेर कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीको मातहत रहने गरेर राष्ट्रिय सुरक्षा नीति बनाएपछि कांग्रेसले विरोध गर्दै सेनालाई स्वतन्त्र राख्न माग गरेको हो ।

Published : Sunday, 2019 March 17, 8:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया