प्रचण्ड अमेरिका उडेकै दिन ओलीको झट्का लाग्ने अभिव्यक्ति

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका उडेकै दिन अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले हाललाई मन्त्रिमण्डलमा हेरफेर गर्ने आफ्नो कुनै योजना नभएको बताएका छन् ।

विराटनगर आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘एउटा मन्त्रालय खाली छ । अपूर्णलाई पूर्णता गर्ने एउटा कुरा हो । मन्त्रिपरिषद् हेरफेरको कुनै योजना छैन ।’

प्रचण्डले मन्त्रीहरूको कामकारबाही सन्तोषजनक नरहेको भन्दै मन्त्री हेरेफेरको तयारी भैरहेको बताएका बेला ओलीले सो विषय ठाडै अस्वीकार गरिदिएका छन् ।

प्रचण्ड अहिलेको मन्त्रिमण्डलबाट केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने पक्षमा छन् । ओली र प्रचण्डबीच मन्त्री फेर्नेबारेमा कुराकानी पनि भएको थियो ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले लगाएको प्रतिबन्धमा रुवावासी नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

विप्लव समूह मान्यताप्राप्त संस्था नभएको र गैरसरकारी संस्थाहरू जस्तो कतै दर्ता पनि नभएकोे अनधिकृत समूह मात्र भएको प्रधानमन्त्री ओलीले बताए ।

‘यो कुन दर्ता भएको पार्टीलाई प्रतिबन्ध लगाएको हो र ?’ उनले भने, ‘बम पड्काउने, जन्तीका बसमा आगो लगाउने, धम्काउने, चन्दा उठाउने कामलाई पो प्रतिबन्ध लगाएको हो । त्यसमा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरू भन्नेको रुवाबासी किन ?’

उनले यो देशमा धम्क्याउने, लुटपाट र उत्पात मच्चाउने छुट कसैलाई नभएको बताए । ‘सरकारले ठट्टा गरेको हैन सबै नियन्त्रणमा लिन्छ’, उनले भने ।

‘विप्लव समूहलाई भन्न चाहन्छु सरकार ठट्टा गरिरहेको छैन । विध्वंसात्मक काम गर्न पाइँदैन’, उनले भने, ‘कसैले रुवाबासी गर्छ भने गरिरहोस् । सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ ।’

उनले भने, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? अस्ती वार्ता समिति बनाएका थियौं, खोइ त्यो समूहले वार्ता गरेको ? सधैं वार्ता भनिरहने ?’ ओलीले विप्लव समूहका माग अहिलेसम्म कसैले पनि बुझ्न नसकेको बताए ।

Published : Sunday, 2019 March 17, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया