सेनामाथि ओली हाबी हुँदै, कांग्रेसले योजना पूरा हुन नदिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेताहरूले नेपाली सेना परिचालनका लागि प्रधानमन्त्री केपी ओलीलाई अधिकार दिन नहुने बताएका छन् ।

उनीहरूले सेनालाई प्रधानमन्त्री ओलीले सिधै परिचालन गर्ने विषयले निरंकुशता ल्याउने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरूले सेनालाई अहिलेकै अवस्थामा राख्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदाश प्रधानले नेपाली सेनालाई राजनीतिककरण गर्न खोजेको भन्दै विरोध गरे । ‘सेनालाई राजनीतिकरण गर्नु हुँदैन’, उनले भने, ‘अहिलेको अवस्थामा जसरी चलेको छ त्यसै गरी चल्न दिनुपर्छ ।’ उनले सेनालाई राजनीतिक हस्तक्षेप गर्न नहुने बताए ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाविरुद्ध सेना परिचालनको अवस्था आइनसकेको कांग्रेसका नेता प्रधानले बताए । ‘विप्लवसँग पहिला वार्ता गर्नुपर्छ । विप्लवले पनि हिंसाको राजनीति त्यग्नुपर्छ’, उनले भने, ‘समस्याको समाधान राजनीतिक रुपले गर्नुपर्छ ।’

ओली सरकारले तयार पारेको राष्ट्रिय सुरक्षा नीतिमा नेपाली कांग्रेसको विमती रहेको नेता प्रधानले बताए । ‘नेपाली सेनालाई प्रधानमन्त्री मातहत राख्नु हुँदैन । यो कुरा कांग्रेसलाई मान्य छैन’, उनले भने, ‘ओलीजी सधैँ प्रधानमन्त्री हुने पनि होइन । उहाँले शक्ति आफूमा केन्द्रित गर्ने धेरै जोडबल गर्नु हुँदैन ।’

ओली नेतृत्वको सरकार छिटै ढल्ने पनि उनले बताए । ‘नेकपाको सरकार चार वर्ष रहला । तर, केपी ओली नै प्रधानमन्त्री रहन्छन् भन्ने छैन’, कांग्रेसका नेता प्रधानले भने, ‘ओली र प्रचण्डबीच भएको एग्रिमेन्टेले ओलीले चार वर्ष चलाउने देखिदैन ।’

नेकपाका नेता दीनानाथ शर्माले विप्लव नेतृत्वको नेकपाविरुद्ध सेना परिचालन गर्न नहुने बताए । ‘वार्ताबाट समस्याको समाधान खोज्नुपर्छ’, उनले भने, ‘सेना परिचालन गर्नु हुँदैन ।’

अहिलेका मन्त्रीहरूलाई परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । ‘अहिलेका केही मन्त्रीहरूलाई परिवर्तन आवश्यक भएको छ’, उनले भने, ‘मन्त्रीहरू परिवर्तन गर्नेबारेमा दुई अध्यक्षबीच सहमति भएको छ । प्रधानमन्त्रीजीले मन्त्री कहीले हेरफेर गर्नुहुन्छ उहाँको कुरा हो ।’

Published : Sunday, 2019 March 17, 11:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया