ओली सरकारको अहँकार कांग्रेसले चकनाचुर बनाउँछः दीपक गिरी

तानसेन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले वर्तमान कम्युनिस्ट सरकारले सहमति र सहकार्यको राजनीतिलाई लत्याएको बताएका छन् ।

पाल्पा जिल्लामा शनिबार आयोजित कार्यक्रममा नेता गिरीले दुई तिहाइको दम्भले वर्तमान सरकार आँखा नदेख्ने भएको बताए ।

‘गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यलाई केन्द्रमा राखेर दश वर्ष सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई संसदीय राजनीति ल्याउनु भयो’, उनले भने, ‘अहिलेको खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकारले वार्ता र सम्वाद गर्नुको साटो विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा यो विषय निरंकुश हो ।’

वार्ता र सम्वादबाट समस्याको समाधान खोज्नुपर्ने भन्दै नेता गिरीले विप्लवलाई पनि हिंसाको राजनीति नगर्न आग्रह गरे । उनले भने, ‘हिंसाले कसैलाई पनि फाइदा हुँदैन । देश द्वन्द्वमा जान्छ ।’

कम्युनिस्ट सरकारलाई दुई तिहाइको दम्भका कारण प्रमुख विपक्षी दल नेपाली कांग्रेस पनि छ भन्ने कुरा भुलेको पूर्वमन्त्री गिरीले बताए । ‘सरकारको व्यवहारमा सुधार हुनु आवश्यक छ’, उनले भने, ‘सुध्रिएन भने सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

यसैबीच, नेपाली कांग्रेसका नेता गिरीले पाल्पाको भैरव मन्दिरमा पनि दर्शन गरेका छन् ।

Published : Saturday, 2019 March 16, 9:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया