कम्युनिस्ट सरकारले गर्न नसकेको कुरा अपीलमार्फत कांग्रेसले गर्‍यो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस सबैखाले विमतीको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने भन्दै शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्न आग्रह गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर नेत्रबिक्रम चन्द ‘विप्लव’द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपील गरेका छन् ।

‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ’, कांग्रेसका प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले भनेको छ, ‘दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मूल नेतृत्व कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपील गर्दछ ।’

सभापति शेरबहादुर देउवाले शनिबार चैत २ गते पाल्पाको कार्यक्रममार्फत ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसकेको प्रशंग कोट्याउँदै शर्माले भनेका छन् ।

उनले ‘नेता रामचन्द्र पौडेलले कपिलवस्तुको कार्यक्रममार्फत ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपील गरिसकेको पनि स्मरण गरएका छन् ।

‘नेपाली कांग्रेस पार्टीको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुबै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरि नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराउँदछ’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही समय यता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको प्रतिबन्धात्मक कदमका बारे नेपाली कांग्रेस पार्टीको धारणाका सम्बन्धमा कतिपय अस्पष्टता प्रष्ट्याउन प्रवक्ता शर्माले विज्ञप्ति जारी गरेका हुन् ।

Published : Saturday, 2019 March 16, 5:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया