देउवाविरुद्ध सभापतिहरूको गोप्य बैठक, हस्ताक्षर अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले गोप्य अभियान चलाएका छन् ।

पौडेल–सिटौला समूहले देउवालाई सभापतिबाट हटाउने योजना बनाएको खुलासा भएको हो । विशेष महाधिवेशन बोलाउन लगाएर देउवालाई हटाउने योजना बनाएका जिल्ला सभापतिहरूले नयाँ सभापति कसलाई बनाउने भन्नेबारे केही बताएका छैनन् ।

काठमाडौंको अनामनगरमा शुक्रबार बसेको कांग्रेसका केही जिल्ला सभापतिहरूको गोप्य बैठकले देउवालाई विशेष महाधिवेशन बोलाउन बाध्य बनाउने योजनाका साथ महासमिति सदस्यहरूको हस्ताक्षर अभियान चलाउने सहमति गरेको छ ।

देउवालाई हटाउने योजनाको नेतृत्व केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाई समेत रहेका नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले लिएका छन् ।

नुवाकोट कांग्रेसका सभापति केसीलाई नेता मानेर अनामनगरमा बसेको जिल्ला सभापतिहरूको भेलाले महासमिति सदस्यहरूको हस्ताक्षर अभियान चलाउने निर्णय पनि गरेको छ ।

उच्च स्रोतका अनुसार देउवाले कांग्रेसलाई नोक्सानी गरेको भन्दै विशेष महाधिवेशनबाट हटाउने गोप्य सहमति भएको छ ।

गोप्य भेलामा महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

गोप्य बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो ।

महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेको एकजना जिल्ला सभापतिले जानकारी दिएका छन् ।

७७ वटै जिल्लामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दा सभापतिहरूले अग्रसरता लिने उनीहरूले बताएका छन् ।

पार्टी संस्थापनले जितेका जिल्लामा सभापतिका निकटतम प्रतिद्वन्द्वी बनेका उम्मेदवारको नेतृत्वमा हस्ताक्षर अभियान चलाइनेछ ।

गोप्य बैठकमा जगदीश्वरनरसिंह केसी (नुवाकोट), मधु आचार्य (काभ्रे), सबुज बानियाँ (काठमाडौं), हिमालय कर्माचार्य (इलाम), लीला बोखिम (ताप्लेजुङ), विकास लामा (सिन्धुपाल्चोक), खड्गबहादुर शाही (मुगु), अमरसिंह पुन (रोल्पा), नरेशकुमार श्रेष्ठ (खोटाङ)लगायतको सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 March 16, 1:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया