देउवालाई देखेपछि हत्या गरिएका अनीषका बाबुआमा भक्कानिए, पोछीदिए आँशु

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका केन्द्रीय नेताहरूले अपराधिक जत्थाको सांघातिक आक्रमणबाट हत्या गरिएका नेपाल तरुण दल रुपन्देहीका सक्रिय कार्यकर्ता अनीष पुरीका आफन्तलाई भेटेर सहानुभूति दिएका छन् ।

रुपन्देहीको देवदह निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य लोमस पुरीका एक मात्र छोरा अनीष पुरीको केही दिन अगाडि अपराधिक समूहले हत्या गरेको थियो ।

अनीष पुरीको निवासमा शुक्रबार श्रद्धाञ्जलि सभाको कार्यक्रम पनि राखिएको थियो । सभापति देउवासहितका कांग्रेसका नेताहरूलाई देखेपछि अनीष पुरीका बुबाआमा र आफन्तहरू भक्कानिएका थिए ।

नेपाल तरूण दल देवदहका सदस्य स्वर्गीय अनीष पुरीको असामयिक निधनको छैटौं दिन शुक्रबार शोकाकुल परिवारजनलाई भेट गरेर देउवासहितका कांग्रेस नेताहरूले समवेदना प्रकट गरेका हुन् ।

परिवारसँगको भेटघाटका क्रममा कांग्रेस सभापति देउवाले अनीषका हत्यारा जो सुकै भएपनि कारवाहीको दायरामा ल्याउन आफूले पहल गर्ने शोकाकुल परिवारजन समक्ष प्रतिवद्धता जनाएका छन् ।

अनीष पुरीको निवासमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महत, केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य भीष्मराज आङ्दाम्बे, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाक, जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति एवम् देवदह नगरप्रमुख हीरा केसी, देबदह नगर सभापति गुनाखर भुर्तेल लगायतले शोक मन्तव्य राखेका थिए ।

 

Published : Saturday, 2019 March 16, 1:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया