कांग्रेस कमजोर छैन, कम्युनिस्टलाई सुध्रिने मौका दिएको हो : खाँण

बुटवल । नेपाली कांग्रेसका मुख्य सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले संसदीय व्यवस्था र संविधानमाथि प्रहार भई कमजोर नहोस भनेर कांग्रेसद संसदमा रचनात्मक र नम्र भएर प्रस्तुत हुने गरेको बताएका छन् ।

भैरहवामा शनिबार बिहान नेपाल प्रेस युनियन रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खाँणले भौगोलिक, सांस्कृतिक, धार्मिक विविधता भएको नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्था संसदीय व्यवस्था भएको बताए ।

उनले भने, ‘संसदीय व्यवस्थामाथि प्रहार भई कमजोर नहोस् भनेर नै कांग्रेस सदनमा रचनात्मक र नम्र रुपमा प्रस्तुत भइरहेको छ ।’

‘पार्टी कार्यकर्ता, शुभेच्छुक र आम नागरिकको कांग्रेस सदनमा बढ्तै आक्रमक रुपमा प्रस्तुत भइदियोस् भन्ने चाहना छ, कांग्रेस नरम भयो भन्ने आरोप छ’, उनले भने, ‘तर संसदीय व्यवस्था विवादमा नआओस् र कमजोर नहोस् भनेर हामी नरम भएका हौं ।’

कम्युनिस्ट सरकारले आफूलाई सुधार नगरे कांग्रेस बाध्य भएर कडा रुपमा सदनमा प्रस्तुत हुने चेतावनी दिए ।

कांग्रेसका नेता खाँणले कांग्रेसले एक दलीय सर्वसत्तावादी शक्तिले शासन चलाउँदा मुलुक दुर्घटनामा जाने भएकाले नै कांग्रेस नम्र भएको बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले सरकारले विप्लव नेतृत्वको नेकपालाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताए । उनले वार्ता र सम्वादमार्फत निकास निकाल्न सुझाव दिएका छन् ।

‘विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्छ’, उनले भने, ‘वार्ता र संवादको ढोका बन्द गर्नु हुँदैन ।’ उनले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गरेका छन् । ‘मुलुकले फेरि अर्को द्वन्द्व थेग्न सक्दैन’, खाँणले भनेका छन् ।

बिखण्डनकारी सीके राउतसँग भएको सहमतिका बुँदाहरूमा अस्पष्टता रहेको बताउँदै नेता खाँणले सीके राउतले भने जस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने बताए ।

संविधानमा नभएका कुराहरूमा पनि कम्युनिस्ट सरकारले प्रतिवद्धता गरे जस्तो सहमतिका बुँदामा रहेको उनले बताए । सरकार र सीके राउतबीचको सहमतिमा साझा धारणा सार्वजनिक गर्न खाँणले माग गरेका छन् ।

सीके राउतको समूह राजनीतिको मूलधारमा आउनु राम्रो कुरा भएपनि सहमतिको अर्को दिन सीके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरूले पनि आशंका बढेको बताए ।

प्रदेश ५ को राजधानीबारेमा छिटो टुंगोमा पुग्न प्रदेश सभा र प्रदेश सरकारलाई खाँणले आग्रह गरेका छन् ।

गौतमबुद्धको जन्मस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र अन्य पूर्वाधारका हिसाबले पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्ने कांग्रेसका नेता खाँणले बताए । उनले स्थायी राजधानीको विषय नटुंग्याउँदा अन्यौलमा जनता परेको बताए ।

Published : Saturday, 2019 March 16, 12:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया