कम्युनिस्ट सरकार र सीके राउतको सहमति राष्ट्रघातिः देउवा

पाल्पा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश टुक्र्याउँछु भनेर हिँडेका सीके राउतसँग कम्युनिस्ट सरकारले गरेको सम्झौता राष्ट्रघाति भएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, ‘सहमति भएको केही समयमै सीके राउतका समर्थकले नयाँ देश मधेसमा स्वागत छभन्दै निकालिएको जुलुसबाट सीके राउत राजनीतिको मूल प्रवाहमा आएका छैनन् ।’

कम्युनिस्ट सरकार र सीके राउतबीच भएको सहमतिको नेपाली कांग्रेसले स्वागत गरेको भनेर आएका समाचारप्रति आक्रोश व्यक्त गर्दै देउवाले भने, ‘कांग्रेसले देश टुक्र्याउने अभियानमा लागेका व्यक्तिसँग गरेको राष्ट्रघाति सहमतिलाई कहिल्यै पनि स्वागत गर्दैन ।’

सभापति देउवाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हत्या हिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । ‘वार्ताको विकल्प छैन’, उनले भने, ‘सरकारले वार्ताका लागि आह्वान गर्नुपर्छ । विप्लव हिंसा छोडेर छलफलका लागि आउनुपर्छ ।’

ओली सरकारको एक वर्ष उखान टुक्कामै बितेको उनले बताए । ‘यो सरकार बनेको एक वर्ष बितिसक्यो । एउटा पनि महत्वपूर्ण काम भएको छैन’, देउवाले भने, ‘सरकार अपराधीहरूलाई बचाउने काम गरिरहको छ । यही अवस्था हुँदै जाने हो भने मुलुक कहाँ पुग्छ ?’

जनतालाई दुःख दिएर मनपरी रुपमा कम्युनिस्ट सरकार अगाडि बढीरहे चुप लागेर नबस्ने सभापति देउवाले चेतावनी दिएका छन् ।

सभापति देउवाले रामचन्द्र पौडेललाई सभापति बन्ने इच्छा जागेर आएको बताएका छन् । ‘रामचन्द्रजीलाई सभापति बन्ने इच्छा भएकाले पनि मैले गरेको निर्णयलाई अस्वीकार गर्नु स्वाभाविक हो’, उनले भने, ‘अबको अधिवेशनमा सभापतिको लागि चुनाव लड्दै हुनुहुन्छ रामचन्द्रजी । अनि मैले भनेको कहाँ मान्नुहुन्छ ।’

सभापति देउवाले गिरिजाबाबुले ल्याएको संविधान विपरीत हिन्दूधर्मको पक्षमा वकालत नगर्न डा.शेखर कोइरालालाई आग्रह पनि गरे ।

‘शान्ति प्रक्रिया र नयाँ संविधान ल्याउन गिरिजाबाबुको ठूलो योगदान छ’, उनले भने, ‘संविधान विपरीतका कुनै पनि गतिविधि नगर्न डा.शेखर कोइरालालाई आग्रह छ ।’

Published : Saturday, 2019 March 16, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया