जनताले कम्युनिस्टहरूबाट दुःख पाए, कांग्रेसले टुलुटुलु हेरेर बस्दैनः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कांग्रेस निर्वाचनमा पराजित हुँदा कम्युनिस्टहरूका कारण देश र जनताले दुःख पाएको बताएका छन् ।

गृहजिल्ला दाङको नेपाली कांग्रेस श्रीगाउँ गाउँ कार्यसमितिको आयोजनामा शुक्रबार परसडुवा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले कम्युनिस्टहरूले देश बर्बाद बनाएको आरोप लगाए । उनले भने, ‘कांग्रेसले निर्वाचन हार्दा देश र जनताले दुःख पाए । कम्युनिस्टहरूका कारण राष्ट्रियतामाथि नै खतरा बढेको छ ।’

गिरीले बिखण्डनकारी सीके राउतलाई बैधानिकता दिएर कम्युनिस्टहरूले राजनीतिक मुद्धा बोकेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक दललाई प्रतिबन्ध लगाएकोमा आक्रोश व्यक्त गरे । ‘सीके राउतलाई कम्युनिस्ट सरकारले ज्वाइँ पाले जस्तै गरेर राखेको छ’, उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । विप्लवको हिंसात्मक गतिविधिमा कांग्रेसको समर्थन छैन । तर, उनीहरूका राजनीतिक मागलाई वार्तामार्फत पूरा गर्नुपर्छ ।’ गिरीले देशलाई द्वन्द्वमा फसाउन खड्गप्रसाद ओली र प्रचण्ड सक्रिय भएको आरोप पनि लगाए ।

ओली नेतृत्वको दुई तिहाइको कम्युनिस्ट सरकारले देशलाई संकटतर्फ धकेलेको नेता गिरीले बताए । ‘कम्युनिस्ट सरकारसँग आजित बनेका जनताले विकल्प खोज्न शुरु गरिसकेका छन्’, उनले भने, ‘कांग्रेसले मात्रै देशलाई विकल्प दिन सक्छ । जनताको पीरमर्का बुझ्न सक्छ ।’

दाङबाट जितेका कम्युनिस्ट पार्टीका जनप्रतिनिधिहरूले जिल्लाको विकासमा केही गर्न नसकेको उनले बताए । ‘खुमबहादुर खड्का र हामीले जितेर गएका बेला दाङसहित पश्चिमको विकास भएको थियो’, पूर्वमन्त्री गिरीले भने, ‘कम्युनिस्टहरूले जितेपछि दाङको विकास अवरुद्ध भएको छ । कांग्रेसले गरेका कामलाईले गरेको हुँ भनेर कम्युनिस्टहरूले झुठको प्रचार गरेका छन् ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले कम्युनिस्ट सत्ताबाट भएको उपद्रोबाट आजित बनेका जनता उकुसमुकुस बनेको बताएका छन् ।

गाउँको विकासमा धेरैभन्दा धेरै समय लाग्न केन्द्रीय सदस्य गिरीले निर्देशन दिएका छन् । नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीका अनुसार केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गिरीले पार्टीभित्रको सानातिना विवादलाई मिलाएर सबै नेताहरू कम्युनिस्टहरूविरुद्ध जनतामा केन्द्रित हुने बताएका छन् ।

कांग्रेसभित्र विगतमा जे जस्ता गल्ती भएपनि अब ती गल्तीहरूलाई दोहोरिन नदिने उनले बताए । ‘पार्टीभित्रको घात अन्तरघातलाई रोक्नुपर्छ’, गिरीले भने, ‘हामी आफूभित्रै लड्दा कम्युनिस्टहरूले फाइदा लिएका छन् ।’

अहिले कम्युनिस्टहरूसँग भिड्ने समय आएको भन्दै नेता गिरीले भने, ‘गाउँबाट जनतालाई जागरुक बनाएर कांग्रेसले सडक संघर्ष गर्ने समय आउँदै छ । तयार भएर बस्नुस् ।’

कार्यक्रममा दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरी, संविधानसभाका पूर्व सभासद बुद्धिराम भण्डारी, भरत केसी, शंकर डाँगी, जगतबहादुर खड्का, हर्कबहादुर बुढाथोकी, केशव आचार्य, टीका डाँगी, घनश्याम ढकालसहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 March 15, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया