मान्छे मारेर आएका प्रचण्ड विप्लवले मर्छन् कि भनेर डराएः भुपेन्द्रजंग शाही

भैरहवा । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेत्रविक्रम चन्द ‘विप्लव’को धम्कीले डराएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘डरछेरुवा’ नेताको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र नं. ३ ले यशोधरा गाउँपालिकाको अमलोन्हामा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव शाहीले दुई तिहाइको बहुमत सरकारको दोस्रो तहको अध्यक्ष विप्लवको धम्कीबाट डराएको भन्दै आश्चर्य व्यक्त गरे ।

‘विप्लवको धम्कीबाट डराउने प्रचण्ड डरछेरुवा हुन् भन्ने प्रमाणित भएको छ’, उनले भने, ‘हिजोका दिनमा आफै हत्या हिंसा मच्चाउने प्रचण्ड आज मरिन्छु कि भनेर अत्तालिएका छन् ।’

तरुण दलका महासचिव शाहीले विप्लवलाई इमान्दारिताका साथ वार्ता आह्वान गरेर समस्याको समाधान गर्नुपर्ने बेला दुई तिहाइको कम्युनिस्ट सरकारले अर्को कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाउने कार्य निरंकुश शैली रहेको बताए ।

‘कुनै बेला प्रचण्डले उनै विप्लवसँग मिलेर जनयुद्ध गर्नुभएको थियो । अहिले आएर विप्लवसँग डराउनुभएको छ’ शाहीले भने, ‘सरकारको नेतृत्व गरेको कम्युनिस्ट सरकारले अर्को कम्युनिस्ट पार्टीको कुरा सुन्न नचाहनु भनेको गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था विरुद्ध जानु हो । कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध गर्न नपाउने व्यवस्था संविधानले गरेको छ ।’

महासचिव शाहीले विप्लव समूहलाई हिंसात्मक गतिविधि नगर्न सुझाव दिए । ‘हिंसाबाट कुनै पनि समस्याको समाधान हुँदैन’, उनले भने, ‘तपाईहरू आफूै एक दशक हिंसात्मक आन्दोलन गरेर आउनुभयो । के पाउनु भयो त ?’

संघीय लोकतान्त्रिक गणतन्त्र शान्तिपूर्ण रुपमा आएको भन्दै महासचिव शाहीले हिंसाले कुनै पनि निकास नदिने बताए । उनले दुई तिहाइको कम्युनिस्ट सरकारलाई विप्लव समूहसँग गम्भीर भएर इमान्दारिताका साथ काम गर्न आग्रह गरेका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले १७ हजार मान्छे मारेर नेता बनेका प्रचण्डले आफ्नै परिवारका सदस्यलाई अवसर र लाभको पदमा लगेको भन्दै माओवादी कार्यकर्ताहरूको आँखा खोलिदिएका छन् ।

‘प्रचण्डले बुहारीलाई मन्त्री बनाउनुभएको छ । छोरीलाई भरतपुरको मेयर बनाउनु भएको छ । ज्वाइँहरूलाई विभिन्न लाभको पदमा राख्नुभएको छ । भाईभारदारहरू पनि लाभको पदमा छन् । अकुत कमाएका छन्’, उनले भने, ‘कथित जनयुद्धमा मारिएका १७ हजारले प्रचण्डको परिवारलाई फाइदा पुर्‍याउन हो ?’

Published : Friday, 2019 March 15, 7:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया