व्यक्ति होइन कांग्रेस हेरेर विधान बनाउनुपर्छ, सभापतिलाई अधिकार दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य, नेता तथा कार्यकर्ताहरूले सभापतिलाई अधिकार दिनुपर्ने बताएका छन । सभापतिलाई अधिकार नदिने हो भने पार्टीभित्र अराजकता बने तर्क दिएका छन ।

महासमिति बैठकमा विधान संशोधनको विषयमा विभिन्न थरीका कुरा भैरहेका बेला जिल्ला तहका नेताहरूले सभापतिलाई अधिकार नदिने हो भने पार्टीमा संगठन गर्न समस्या हुने बताएका हुन ।

उनीहरूले केन्द्रीय र जिल्ला सभापतिहरूलाई अधिकार दिनै पर्ने बताए । सभापतिलाई अधिकार नहुने हो भने पार्टीभित्र अराजकता निम्तिने उनीहरूले चेतावनी दिएका छन ।

कांग्रेसमा व्यक्तिलाई भन्दा पनि पार्टीलाई ध्यान दिएर विधानमा व्यवस्था गर्नुपर्ने नेताहरूको भनाइ छ ।

दाङ कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खडकाले राजनीतिक दलमा उमेर हदको कुरा आवश्यक नहुने बताए । उनले कांग्रेस पार्टीलाई बनाउन युवादेखि वृद्ध सबैको योगदान रहेको बताए । उनले सभापतिलाई अधिकार दिनुपर्ने सुझाव दिए ।

कांग्रेसमा सभापतिको अधिकार कटौती गर्ने हो भने त्यसले संगठन बनाउन समस्या हुने खडकाले बताए ।

कांग्रेसका महासमिति सदस्य एवं पूर्व सांसद राजु खनालले पनि सभापतिलाई अधिकार दिनुपर्ने बताए । सभापतिलाई पदाधिकारी र सदस्यहरू मनोनीत गर्ने अधिकार नदिने हो भने कांग्रेसको संगठन बनाउन झन समस्या हुने बताए । खनालले निश्चित उमेर समूहका युवाहरूलाई पनि आरक्षण दिनुपर्ने बताए ।

कांग्रेसले आर्थिक नीतिलाई सहि रुपमा ल्याउन नसकेको भन्दै खनालले भने, ‘दश वर्षको योजना राखेर कांग्रेसले कार्यक्रम ल्याउनु पर्छ ।’

कांग्रेसका नेता एवं महासमिति सदस्य योगेन्द्र चौधरीले पनि केन्द्रीय अध्यक्षसहित जिल्लासम्मलाई अधिकार दिनुपर्ने बताए । उनले भने, ‘सभापतिलाई अधिकार दिनुपर्छ । अधिकार नदिने हो पार्टीभित्र अराजकता पनि निम्तिन सक्छ ।’

कांग्रेसका सांसद एवं महासमिति बैठकका पर्यवेक्षक अभिषेक प्रताप शाहले पार्टी सभापतिलाई अधिकार दिनुपर्ने बताए ।

‘सभापतिलाई अधिकार नदिने हो भने कसरी पार्टी चल्छ ?’, शाहले भने, ‘मनोनीति गर्ने अधिकार सभापतिमा हुनुपर्छ । बरु कसरी मनोनीत गर्ने त्यसमा छलफल आवश्यक छ ।’ पार्टीमा सत्तरी वर्षे उमेर हदका विषयमा शाहले भने, ‘राजनीतिक दल भएकोले उमेर हद लागू नगर्दा राम्रो ।’

कांग्रेसका महासमिति सदस्य गणेशबहादुर विष्टले कांग्रेसभित्र उमेर हद आवश्यक नरहेको बताए । गिरिजाप्रसाद कोइरालालाई काम गर्न उमेरले छेकेको थियो र ? प्रश्न गर्दै विष्टले भने, ‘उमेर भनेका करा मिठा र चिल्ला मात्रै हुन । उमेर हद लागू गर्नु आवश्यक छैन ।’ उनले सभापतिलाई अधिकार दिनुपर्ने बताए ।

कांग्रेसका नेता प्रदीप थापाले कांग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्ने बताए । नेविसंघ दाङका अध्यक्ष राजकुमार डाँगीले कांग्रेसमा पनि ७० वर्षे उमेर हद लगाउनुपर्ने माग गरे ।

Published : Wednesday, 2018 December 19, 10:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया