आलोचना बढेपछि विमलेन्द्र निधि हलबाटै बेपत्ता

काठमाडौं । कांग्रेसका उपसभापति विमलेन्द्र निधिद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा महासमिति सदस्यहरूले चर्को विरोध गरेका छन । विरोध भएपछि निधि सोमबारको बन्दसत्रमा दिनभरि देखिएनन ।

कांग्रेसका उपसभापति निधि बन्दसत्रमा उपस्थित नभएपछि महासमिति सदस्यहरूले के भयो भनेर प्रश्न गरेको एक सदस्यले बताए । महासमिति सदस्यहरूले राजनीतिक प्रस्ताव पेश गरेका उपसमिति निधिलाई सुझाव सुन्न बन्दसत्रमा नदेखेपछि बोलाउन दवाव दिएका थिए ।

केही सहभागीले त उपसभापति खोइ भनेर प्रश्न पनि गरेको एकजना महासमिति सदस्यले बताए । मागको सुनुवाई मञ्चबाट भएन, त्यसको जवाफ पनि आएन ।

कहाँ गएका थिए त निधि ? यसको आधिकारिक जवाफ सोमबार साँझसम्म पनि कसैले दिएनन् । सहभागीले उनलाई कार्यक्रमस्थलमा पाउँदा पनि पाएनन् । केही भन्दै थिए निधि हिजोदेखि नै नरमाइलो मुख लगाएका थिए । यसका कारण थिए विजयकुमार गच्छदार ।

गच्छदारको दमदार प्रस्तुति उदघाटन सत्रमा निकै राम्रो थियो । गच्छदारले दुई नेता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल)लाई हात मिलाउन लगाएको कुरा सोमबारसम्मका सञ्चारमाध्यममा आएको छ । यसले निधिलाई टाउको दुखाई भएको चर्चा ।

निधिको शनिबारको सम्बोधन मन्तव्यको कुनै अर्थपूर्ण नभएको र सहभागीहरूले पनि कुनै टिप्पणी नगरेकाले उनी आइतबारदेखि नै ‘मुडअफ’मा छन ।

त्यसमा पनि शनिबार साँझ उनको राजनीतिक प्रतिवेदन आएपछि त निधिको झन आलोचना नै भएको थियो । उनको प्रतिवेदनले धेरै कुरा समेटन नसकेको आरोप छ । जसका कारण सहभागीहरूले निधिमाथि दर्जनौँ प्रश्न उठाएका छन ।

एकजनाले त उपसभापति निधि आफै सो प्रतिवेदन नलेखेर नरहरि आचार्यलाई लेख्न लगाएको सम्म भनेका थिए । राजनीतिक प्रतिवेदनमा पनि आचार्यले लेखेको भनेर जस आफूलाई नआएकोमा पनि निधि दिक्क छन ।

यति ठूलो महासमिति बैठकमा उपसभापति जस्तो व्यक्तिले तयार पारेको राजनीतिक प्रतिवेदन यस्तो हल्का र कुनै मार्ग निर्देशनका रुपमा पनि नरहेको भन्दै महासमिति सदस्यहरूले सभाहलमै कडा विरोध गरेका छन ।

कतिले त यस्तो प्रतिवेदन केन्द्रीय समितिले किन पास गरेर ल्याएको हो भनेर चर्को स्वरमा बन्दसत्रभित्र विरोध गरेका छन ।

निधिको यही प्रतिवेदनको निकै कडा आलोचना गर्दै नेकपाका नेता घनश्याम भुसालले समेत आफू कांग्रेस पार्टीको राजनीति प्रतिवेदन पढेर निराश भएको प्रतिक्रिया दिएका छन ।

त्यो प्रतिवेदनमा कांग्रेसको राजनीतिक विचार र भोलीको दिशानिर्देश कसरी हुनसक्छ भनेर नेकपाका नेता भुसालले सञ्चारमाध्यममै दिएको अन्तर्वार्ताले निधिलाई झनै लाजमर्दाे बनाएको चर्चा छ ।

त्यो प्रतिवेदनलाई पनुर्लेखन गर्नुपर्ने भनी नेकपाका नेता भुसालले भनेजस्तै अधिकांश महासमिति सदस्यहरूले पनि बन्दसत्रमा माग राखेका थिए ।

महासमिति बैठकमा निधिको उपस्थिति उपसभापतिको जस्तो नभएको धेरै महासमिति सदस्यहरूको गुनासो छ ।

महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजना गरिएको केन्द्रीय समिति बैठकमा नै उनले अनावश्यक विवाद गरेर हात हालाहालको परिस्थिति बनाएको र त्यसको नकारात्मक प्रचार नेपाली मिडियामा भएकोले यसबाट बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरूलाई निराश बनाएको एक नेताले बताए ।

सभापति देउवाले पनि निधिका कार्यशैलीको आलोचना गर्दै हप्काएको स्रोतले जनाएको छ । अर्काे भित्री कुरा के हो भने निधि कांग्रेसमा गच्छदार प्रवेश गराएकोमा पनि देउवासँग शुरुदेखि नै खुसी छैनन् ।

कांग्रेसमा गच्छदार आएपछि निधिले सार्वजनिक रुपमै आफ्ना विरुद्ध देउवाले सौता हालेको भनी टिप्पणी गरेका थिए । उनको त्यो असन्तुष्टि यस पटकको यो बैठकमा स्पष्टै देखिएको छ । यो कुरा सभापति देउवाले पनि थाहा पाएको निकटका नेताहरू बताउँछन् ।

हालैमात्र निधिले जनकपुरमा योगी आदित्यनाथको आगमनको विरोध गरेका थिए । सभापति देउवाले पार्टीलाई विवादमा ल्याउने गरेर किन योगी आदित्यनाथको विरोध गरेको भनेर निधिलाई हप्काएका थिए ।

Published : Monday, 2018 December 17, 9:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया