कांग्रेसका लागि रामचन्द्रले जिते सबैको मन एक पटक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताएका छन् ।

कांग्रेस महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पौडेलले देखाउनका लागि मात्रै नभई यथार्थमै पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् ।

पौडेलले उपसभापति विजयकुमार गच्छदारले हात उठाएर एकताको सन्देश दिन गरेको आह्वानप्रति लक्षित गर्दै हात मिलाएर मात्रै एकताबद्ध नहुने टिप्पणी गरे ।

‘विजय जीले एकता गराइदिएर मात्रै हुँदैन, विपीकै पालादेखि गुटबन्दी थियो’, उनले भने, ‘मनोवैज्ञानिक रुपमा हामी एकताका लागि तयार हुनुपर्छ ।’

एकताको वैज्ञानिक आधार खडा गरी कार्यगत र ठोस एकता हुनुपर्नेमा पौडेलले जोड दिएका छन ।

युवा अवस्थादेखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेको स्मरण गरेका पौडेलले मेल किन नहुने भन्दै महासमिति सदस्यहरूलाई प्रश्न गरे । ‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुँदैन ?’, पौडेलले भने, ‘फेरि जिल्लामा गएर छिर्के दाउ खेल्नु हुन्छ कि हुँदैन ?’

‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भनेजस्तो विगतमा पनि एकता भएको सन्देश दिएर पार्टी ठूलो दुर्घटनामा परेको उल्लेख गर्दै पौडेलले यथार्थवादी बनेर विषय, कार्यशैली र पार्टीभित्रको कमजोरी हटाउन एकता गर्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस धेरै ठूलो संकटमा रहेको बताउदै पौडेलले त्यसको सामना गर्नका लागि पार्टीभित्र एकता हुनुपर्ने उल्लेख गरे । विगतमा उम्मेदवारीको टिकट दिँदा गल्ती भएको स्वीकार्दै सही मूल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्नेमा उनले जोड दिए ।

पौडेलले आगामी चुनावमा ठूलो पार्टी बन्ने तयारीका साथ पार्टीले कार्यतालिका बनाई आफ्ना कार्यक्रमहरुलाई अघि बढाउनुपर्ने बताए ।

कम्युनिष्टकै लहै–लहैमा लागेर कार्यकर्ताहरुले पनि नेताहरुलाई विपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको टिप्पणी गर्दै उनले नेतृत्वले विपीको बाटो नछोडेको दावी गरेका छन ।

नयाँ शोषक जन्माउनेतर्फ सरकारका कामहरु अघि बढेको आरोप लगाउदै पौडेलले सरकारका गलत क्रियाकलापविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

Published : Saturday, 2018 December 15, 10:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया