कांग्रेसको ‘कुम्भ मेला’मा बिहानैदेखि चहल पहल, गदगद छन ‘लडाकुहरू’

काठमाडौं । विधान संशोधन र भावी कार्ययोजना तयार गर्न नेपाली कांग्रेसको महासमिति बैठक आज (शनिबार)देखि शुरु हुँदै छ ।

काठमाडौंको रामशहापथस्थित एक पार्टी प्यालेसमा महासमिति बैठक शुरु हुनेछ । बिहान ११ बजेपछि सभापति शेरबहादुर देउवाले बैठकको उदघाटन गर्ने कार्यक्रम छ ।

कांग्रेस विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि बस्न लागेको हो । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो ।

शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि महासमिति बैठक हुन लागेको छ ।

नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ ।

महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कमजोर नतिजा आएपछि कांग्रेसमा महासमिति बैठक गरेर पुनर्जीवन दिनुपर्ने मागअनुसार महासमिति बैठक राखिएको हो ।

देश संघीयतामा गएको तीन वर्ष बितिसके पनि कांग्रेसले बल्ल पार्टीलाई संघीय संरचनामा बदल्दै छ ।

यसअघि पार्टीका ५ वटा तह रहेकोमा अब टोल समिति, प्रादेशिक निर्वाचन क्षेत्रको समिति र प्रदेश समिति गरी तीनवटा तह थप गरिएका छन । यसअघि वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला, केन्द्र गरी पाँच तह थिए ।

पुस १ देखि ३ सम्म बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव गरेर बैठक सकाउने तालिका छ । उदघाटन कार्यक्रम दुई घन्टा १५ मिनेटमा सकाउने र त्यसको केहीबेरपछि बन्दसत्र सुरु हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।

महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन ।

भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७–९७ जनाको सहभागिता रहनेछ । महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन ।

पार्टी एकता गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट दुई समय महासमिति सदस्यले भाग लिन पाउनेछन भने १ सय ५० जनाले पर्यवेक्षक बन्न पाउने छन ।

उदघाटनपछि आजै शुरु हुने बन्दसत्रमा विधानमा पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । सात प्रदेशका सात समूह बनाएर छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांंग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ । बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ । तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको छ ।

राजनीतिक प्रस्तावमा धर्म्निरपेक्षता शब्द मात्रै भएकोमा असन्तुष्टि आएपछि यसमा थप प्रस्टीकरण थपिएको छ । धर्म परिवर्तन गरिए दण्डनीय हुने विषय पनि राजनीतिक प्रस्तावमा समेटिएको छ ।

यसअघि नेपाली कांग्रेसको महासमिति बैठकहरू काठमाडौंमा ००९ भदौ, ०१०– नेपालगन्ज, ०१४ माघ– वीरगन्ज, ०४९ माघ– नारायणगढ, ०५१ फागुन– पोखरा, ०५४ कात्तिक– नेपालगन्ज, ०६४ असोज– ललितपुर, ०६६ कात्तिक– काठमाडौं र ०६९ चैत– नवलपरासीमा भएका थिए ।

Published : Saturday, 2018 December 15, 9:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया