कांग्रेसका महासमिति सदस्यहरुलाई भव्य स्वागत, झिलिमिलि बन्यो सानेपा

काठमाडौं । देशभरिबाट जम्मा भएका नेपाली कांग्रेसका महासमिति सदस्यहरु पार्टीको सम्पर्कमा पुगेका छन् ।

उनीहरुले कांग्रेसले दिएको झोला, दस्तावेजसहितका सामाग्री लिएको महासमिति सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार महासमिति सदस्यहरुले आफूलाई उपस्थित गराएका हुन् ।

महासमिति बैठकमा उपस्थित हुन आएका सदस्यहरुले आफूलाई रजिष्ट्रेशन गराएका छन् । कांग्रेसले ७ काउन्टरबाट महासमिति प्रतिनिधिलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराएको थियो ।

शनिबार काठमाडौंमा शुरु हुने महासमिति बैठकमा करीब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

बैठकमा संघीयता कार्यान्वयन भन्दाअघि कायम रहेका २ सय ४० निर्वाचन क्षेत्रअनुसार ५ जनाका दरले १२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट ९७–९७ जना सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ ।

जिल्ला सभापति भएर पनि महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति पर्यवेक्षकको हैसियतमा सहभागी हुनेछन् ।

सभापतिले १० जना मनोनीत गर्ने व्यवस्था छ । कांग्रेसले शुक्रबार करीव १२ सय जनालाई परिचयपत्र वितरण गरेको जनाएको छ ।

बाँकीलाई शनिबार बिहान पर्यवेक्षकका रुपमा परिचयपत्र वितरण गरिनेछ । कांग्रेसले रजिष्ट्रेसन वापत महासमिति सदस्यसँग एकहजार रुपियाँ बुझाउने गरेका छन् ।

काठमाडौंको रामशाहपथस्थित एक प्यालेसमा शनिबार बिहान ११ बजे सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ । बन्द सत्र दिउँसो शुरु हुनेछ ।

बन्द सत्रमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा.शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा.प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आय/व्यय विवरण समेटिएको प्रतिवेदन पेस गर्नेछन् ।

Published : Friday, 2018 December 14, 6:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया