सरकारका महत्वपूर्ण डकुमेन्टहरु मन्त्रीको निजी वेबसाइटमा भेटियो

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारका प्रवक्ताले आफ्नो निजी वेबसाइटमार्फत नेपाल सरकारका निर्णयहरु सार्वजनिक गर्ने गरेको रहस्य बाहिर आएको छ ।

कटु र ठाडो जवाफ दिएर बेलाबेला विवादमा आइरहने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णयहरु आफ्नो निजी वेबसाइटमा राख्ने गरेको खुलासा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा मन्त्रिपरिषदका निर्णयहरु राखिएका छैनन् ।

ओलीले आफ्ना मन्त्रीको कामलाई प्रविधि मैत्री र स्मार्ट बनाउने भन्दै एप्पलको म्याक बुक बाँडेका थिए । मन्त्रिपरिषद् बैठकलाई कागजबिहीन बनाउने निर्णय साउन ११ गते भएको थियो ।

सबै मन्त्रीले डायरी होइन म्याकबुक बोक्न थालेका छन् । मन्त्रिपरिषद् बैठक कागजबिहीन बनेको केही समयपछि मन्त्रिपरिषद् बैठकले तत्काल कुनै पनि निर्णय सार्वजनिक नगर्ने जनाएको थियो।

मन्त्रिपरिषद् बैठक कागजबिहीन र स्मार्ट भएपछि प्रधानमन्त्रीको कार्यालयको गति भने ठीक उल्टो देखिएको छ । कार्यालयले आफ्नो वेबसाइटमा मन्त्रिपरिषद् बैठकका निर्णय अपडेट नै गर्न छोडेको छ ।

मन्त्रिपरिषद् बैठक बसेको केही दिनपछि पत्रकारसम्मेलनमार्फत् निर्णय सार्वजनिक हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा भने गत असोजदेखि निर्णय अपडेट गर्न छोडेको छ ।

कार्यालयको वेबसाइटमा असोजदेखि मन्त्रिपरिषद्का निर्णय अपडेट नगरिएपछि सर्वसाधरण पनि सूचनाबाट बञ्चित भएको गुनासो आउन थालेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएको केही घण्टामै सञ्चारमन्त्री बाँस्कोटाको व्यक्तिगत वेबसाइटमा अपडेट भएको अन्नपूर्ण पोस्ट दैनिकको अनलाइन संस्करणले जनाएको छ ।

मन्त्री बास्कोटाले यसअघि पनि मन्त्रिपरिषद्का निर्णय आफ्नो व्यक्तिगत साइटमा अपलोड गर्दै आएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक उच्च कर्मचारीले बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुवँरले आफू यसबारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

Published : Friday, 2018 December 14, 4:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया