खुमलटारमा भेलाः पूर्वएमालेहरुबाट प्रचण्डलाई फाइदा, बेफाइदामा ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्र देखिएका तनावपूर्ण गतिविधिले फाइदा पुगेको विश्लेषण हुन थालेको छ ।

केन्द्रीय सचिवालयको बैठक बहिस्कारकाण्डपछि प्रचण्डलाई फाइदा पुगेको भनेर परामर्श हुन थालेको हो ।

मंसिर २२ गतेको सचिवालय बैठकलाई माधवकुमार कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिस्कार गरेपछि नेकपाभित्रको समीकरणमा फेरबदल भएको एक नेताले बताए ।

मंसिर २२ गतेको घटनाले ओली पनि गलेको चर्चा छ । नेकपालाई आफ्नो पकडभन्दा बाहिर जान नदिन ओलीले ठूलै प्रयास गरेका छन् ।

घटनाको भोलिपल्टै मंसिर २३ गते नेपाल–खनाल समूहले आफूनिकटका स्थायी समिति बैठक बोलाउन गरेको प्रयास २९ मंसिरमा बोलाएर ओली–दाहालले तुहाइदिएका छन् ।

यो घटनाले ओली–नेपालबीच दूरी अझै बढेको छ । प्रदेश कमिटी पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल समूहबीच असमझदारी बढ्दै गएको छ ।

एउटै विमानका दुई पाइलटमध्ये एकजना ओलीको कमान्ड हल्लाउन नेपाल, खनाल र गौतमको विपरीत ध्रुवको गठबन्धन भएको छ ।

तत्कालीन माओवादी समूहका स्थायी समितिका केही सदस्यलाई आर्कषित गरेर ओली समूहसँग जुध्ने योजनामा यो गठबन्धन प्रयासरत देखिएको एक नेताले बताएका छन् ।

पूर्व एमालेमा प्रष्टै दुई खेमा देखिए पनि तत्कालीन माओवादीभित्र भने नेताहरू दाहालकै वरिपरि छन् । यसले गर्दा बैठकमा दोस्रो अध्यक्ष दाहालको भूमिका महत्वपूर्ण हुनेछ ।

ओलीले कहिल्यै पनि पार्टीभित्रका विरोधीहरुप्रति नरम देखिएका छैनन् । ओलीको कार्यशैलीबाट नेपाल पक्षका नेताहरूले धेरै पीडित छन् ।

पार्टीमा सन्तुलनकारी भूमिका खेल्न नसक्ने, आफ्नो गुटको मात्र संरक्षण गरी विरोधी पेल्ने र विधि नमान्ने नेताका रुपमा ओलीलाई नेपाल समूहले लिने गरेको छ ।

नेपाल पक्षधर नेताहरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि विधि–प्रक्रिया मिचेर निर्णय लिन थालेको, स्वेच्छाचारी र अहंकारी बनेको, गुटबन्दीलाई प्र श्रय दिएको जस्ता आरोप लगाइरहेका छन् ।

पदीय मर्यादामा विमति रहेको र असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता खनाल र नेपालबीचको एकता र त्यसमा सचिवालय सदस्य गौतम समेत ओली क्याम्प छाडेर मिसिन आएपछि ओली क्याम्पमा हलचल आएको छ ।

यी तीन नेतालाई मिलाउन घनश्याम भुषाल, योगेश भट्टराईलगायतको भूमिका अहं देखिएको छ । नेपाल पक्षले गरेको तयारीले स्थायी समिति बैठकमा हलचल ल्याउन सफल हुन्छ वा सामसुम हुन्छ समयले बताउनेछ ।

नेपाल समूहले स्थायी समिति बैठकमा ल्याउन खोजेको हलचल प्रचण्डको भूमिकामा निर्भर हुनेछ । प्रचण्ड तत्काल पार्टीभित्रको ओली–नेपाल समूहबीचको अन्तरविरोधमा आफूनिकट नेतालाई जान दिने पक्षमा देखिँदैनन् ।

प्रचण्डको जन्मदिनमा बुधबार भेट्न गएका उनकै समूहका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जर्नादन शर्मा लगायतलाई प्रचण्डले त्यस्तै संकेत गरेर फर्काएका छन् ।

जन्मदिनको नाममा भेला भएका पूर्वमाओवादी नेताहरुले ओलीलाई साइजमा ल्याउने समय यही रहेको भन्दै पूर्वएमालेका दोस्रो तहका नेताहरुलाई प्रयोग गर्ने सहमति भएको थियो ।

श्रेष्ठ अध्यक्ष ओलीको कार्यशैलीसँग सहमत छैनन् । उनी पनि नेपाल, खनाल र गौतमसँग उनीहरूको एजेन्डामा सहमत छन् ।

पार्टीका शीर्ष नेताहरूको एकतामा तत्काल कुनै समीकरण बन्न र फेरबदल हुन नहुने पक्षमा प्रचण्ड समूहका एक नेता छन् ।

पूर्वएमालेका नेताहरुबीच बढ्दै गरेको अन्तरद्धन्द्धबाट प्रचण्डले फाइदा लिने गरेर योजना बनाएको प्रचण्ड निकटका एक नेताले बताए । ओली एक्लिदै गएकोमा प्रचण्डलाई फाइदा हुनेछ ।

Published : Friday, 2018 December 14, 10:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया