हिन्दूधर्ममाथि आक्रमण बढेपछि रक्षामा उत्रियो कांग्रेस, कार्यकर्ता खुसी

काठमाडौं । नेपाली कांग्रेसमा हिन्दूधर्मको विषयले प्रवेश पाएको छ । कांग्रेसका नेताहरुले हिन्दूधर्मप्रति खुलेर धारणा राखेका छन् ।

केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा बोल्ने नेताहरूले हिन्दूधर्मबारे कुरा राखेका हुन् । उनीहरुले महासमितिको बैठकमा हिन्दूधर्मको एजेण्डा लैजान दवाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मनिरपेक्षताका विषयमा खुलेर छलफल हुनुपर्ने बताए । उनले हिन्दूधर्मका विषयमा प्रश्न उठिसकेपछि यसबारे छलफल हुनुपर्ने बताए । उनले धर्मको विषय उठाउँदा पार्टी ठूलो हुने भए कमल थापाको पार्टी ठूलो हुन्थ्यो भनेर तर्क राखेका थिए ।

उनले राज्यको कुनै धर्म हुँदैन भन्ने मान्यताका आधारमा कांग्रेसको नेतृत्वमा संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरेको दाबी गरे ।

व्यक्तिको धर्म हुन्छ । तर, राज्यको धर्म हुँदैन । नेपालको संविधान सहमतिको दस्तावेज हो । एउटा पार्टीले चाहेर संविधान बनेको होइन । यो विषयमा कांग्रेस संवेदनशील हुनुपर्छ । धर्म सबैको आस्थाको केन्द्रबिन्दु हो, उनले भनेका छन् ।

चन्द्र भण्डारीले अहिले अंग्रेजी भाषा विश्वभरि सञ्चारको ठूलो माध्यम भए पनि अबको ३० वर्षपछि संस्कृत भाषामा सञ्चार हुने नासाले जनाएको बताए । उनले हाम्रो धर्मको महत्व हुँदाहुँदै धर्मनिरपेक्षताको वकालत गरेको भन्दै चिन्ता जनाए ।

‘हामीले फाल्न खोजे पनि हाम्रो भाषा, धर्म, संस्कृति फालिँदैन । पूर्वीय दर्शन शाश्वत छ । पश्चिमाहरूले यसलाई अपनाउँदै छन् । हामीचाहिँ हाम्रो भाषालाई किन अनास्था गर्दै छौँ ?’, उनले भने, ‘हाम्रै हिन्दू भगवानले नै बह्माण्डको उत्पत्ति गरे भनेर विश्वास गर्ने हामीहरू किन धर्मको चिन्ता गर्छौँ ?’

केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले धर्मबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा व्याख्या गरिएको भन्दै नेपालमा पनि धर्मनिरपेक्षता हिन्दूधर्मको विरुद्ध ल्याइएको शब्द भनेर बुझ्नु नै गलत रहेको बताए । उनले भने, ‘यो कसैको पक्षमा होइन । म आफू पनि हिन्दू हुँ । संविधानमा भएको व्यवस्थाले हिन्दूधर्मलाई समाप्त पारेको छ भनेर बुझ्न हुन्न ।’

केन्द्रीय सदस्य डा.रामशरण महतले धर्मनिरपेक्षताको विषयमा यति धेरै बोल्न जरुरी नरहेको बताए । उनले भने, ‘धर्मको स्वतन्त्रताको पक्षमा हामी बोल्दै आएका छौँ । बिपीले पनि यही भन्दै आउनुभएको थियो । हामीले पनि यही भन्यौँ । त्यसैले धार्मिक स्वतन्त्रता भन्दा हुन्छ ।’

केन्द्रीय सदस्य महेश आचार्यले धर्मसम्बन्धी छलफल बैठकमा प्रवेश भएकोमा ठीकै रहेको बताए । ‘छलफल गर्नु राम्रो हुन्छ । ८३ प्रतिशत हिन्दू छन् भनेर संविधानमा किन लेख्न सकिएन ? बुद्ध नेपालमा जन्मिएका हुन्’, उनले भने, ‘यो धर्म यहीँबाट सुरु भएको भनेर किन लेख्न सकिएन रु संविधान बनेपछि मानेर जान सक्नुपर्छ । तर, छलफल नै हुनुहुँदैन भन्ने होइन । छलफलले नराम्रो गर्दैन ।’

Published : Thursday, 2018 December 13, 9:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया