गच्छदारले पीडा पोखेपछि कांग्रेस बैठकमा सन्नाटा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले तत्कालीन फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरू पेलानमा परेको भन्दै उनीहरूको भविष्यलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा.शशांक कोइरालाको सांगठनिक प्रस्तावमा फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाजोजन भएको विषयले ठाउँ नपाएपछि गच्छदारले आक्रोश व्यक्त गरेका हुन् ।

सभापति शेरबहादुर देउवासँग बैठकमा विशेष समय मागेर गच्छदारले फोरम लोकतान्त्रिक पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरूलाई ठूलो अन्याय भएको बताए ।

गच्छदारले अहिलेसम्म फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरूलाई अन्याय भएको बताए । गच्छदारले उनीहरूलाई कसरी समायोजन गर्ने भनेर प्रश्न समेत गरेका थिए ।

कांग्रेससँग सहमति गरेर फोरम लोकतान्त्रिकलाई समायोजन गरेको स्मरण गराउँदै गच्छदारले अहिले आएर विभिन्न बखेडा गरेर पार्टीभन्दा बाहिर राख्न खोजेको आरोप समेत लगाए ।

स्रोतका अनुसार गच्छदारले उपसभापति निधि र महामन्त्री डा.कोइरालाविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।

गच्छदारले निधि र डा.कोइरालाले पूर्वाग्रह राखेर फोरम लोकतान्त्रिकका विषयमा प्रतिवेदनहरूमा कुनै पनि कुरा समावेश नगरिएको बताए ।

‘म कांग्रेसमा उपसभापति मात्रै बन्न आएको होइन । फोरम लोकतान्त्रिका नेता तथा कार्यकर्ताहरूका लागि पनि समायोजन होस् भनेर कांग्रेससँग पार्टी समायोजन गरिएको थियो’, गच्छदारले भने, ‘अहिले आएर उपसभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको सांगठनिक प्रतिवेदनमा फोरम लोकतान्त्रिक नअटाउनुले मेरो चित्त दुखेको छ ।’

गच्छदारले मंसिर २८ गतेदेखि काठमाडौंमा शुरु हुन लागेको महासमिति बैठकमा फोरम लोकतान्त्रिक पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरू कसरी र कुन मुखले सहभागिता जनाउँछन् भनेर प्रश्न गरेका थिए ।

गच्छदारको प्रश्नपछि कांग्रेसको बैठकमा केही समय सन्नाटा छाएको थियो । फोरम लोकतान्त्रिक पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरूलाई प्रतिनिधिका रुपमा राख्न आग्रह गर्दा समेत कांग्रेसले आफ्नो मागको सुनुवाई नगरेको गच्छदारले गुनासो गरेका थिए ।

Published : Wednesday, 2018 December 12, 8:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया