कांग्रेस नेता सिटौलाको आलोचना सुनेपछि जिल परे प्रचण्ड

पोखरा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले परिवर्तनको स्पिरिटअनुसार वर्तमान कम्युनिस्ट सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

कास्कीको सिकलेसमा सोमबार आयोजित कार्यक्रममा सिटौलाले नयाँ सरकार आएको एक वर्षमा जति हुनुपथ्र्यो, त्यति नभएकोमा रोष प्रकट गरे ।

‘एक वर्षमा यो सरकारले जति प्रगति र विकास गर्नुपथ्र्यो त्यति हुन सकेको छैन, अपेक्षाअनुसार काम गर्न सकेन’, उनले भने, ‘त्यस्तै प्रतिपक्षले पनि जति विरोध गर्नुपथ्र्यो, त्यो पनि गर्न सकेन ।’ कांग्रेसका नेता सिटौलाले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।

कांग्रेसका नेता सिटौलाले कम्युनिस्ट सरकारको आलोचना गरेपछि मञ्चमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुसुमुसु हाँसेका थिए । सिकलेसको कार्यक्रममा सहभागी हुन् सोमबार प्रचण्ड र सिटौला सँगै आएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देश शान्ति प्रक्रिया हुँदै यहाँसम्म आइपुग्दा अझै पनि प्रतिगमनकारी र निरंकुशताका पक्षपातीबाट परिवर्तनमा खतरा आउन सक्ने दाबी गरे ।

दरबारबाट बाहिरिएका तथा देशमा अशान्ति मच्चाउनेले विभिन्न नाममा षड्यन्त्रका तानाबाना बुनिरहेको उनले आरोप लगाए ।

प्रतिक्रान्तिमार्फत उपलब्धि खोस्ने षड्यन्त्र भइरहेकाले ढुक्क भएर बस्ने स्थिति नभएको उनले बताए । प्रचण्डले संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्वजस्ता आधारमध्ये एउटा आधार भत्कँदा परिवर्तन गुम्नेतर्फ सचेत रहन उनले आग्रह गरेका थिए ।

Published : Tuesday, 2018 December 11, 7:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया