‘आर्थिक नीति’मा टिप्पणी गर्दै कांग्रेस नेताहरूले के–के भने ?

काठमाडौं । नेपाली कांग्रेसको प्रस्तावित आर्थिक नीतिको मस्यौदा ‘बजेट भाषण’ जस्तो भएको भनेर केन्द्रीय सदस्यहरूले आलोचना गरेका छन् । उनीहरूले बजेट जस्तै पट्यार लाग्दो रहेको भन्दै सर्वसाधारणले बुझ्ने किसिमको प्रस्ताव बनाउन सुझाव दिए ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले कांग्रेसको आर्थिक नीतिमा धेरै विषय छुटेको टिप्पणी गरे । उनीहरूले कांग्रेसले सरकारको नेतृत्व गरेका बेला ल्याएका र गरेका राम्रा कुरालाई आर्थिक नीतिले छुटाएको भन्दै असन्तुष्टि जनाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको प्रस्तावित आर्थिक नीतिले कांग्रेसको चरित्रलाई देखाउन नसकेको बताए । ‘कांग्रेसलाई चिनाउने गरेर आर्थिक नीतिको मस्यौदा आउन सकेन’, पौडेललाई उदृत गर्दै स्रोतले भन्यो, ‘छिटो छरितो र कार्यकर्ताले बुझ्ने गरेर मस्यौदा बनाउन नसक्नु गम्भीर गल्ती हो ।’

आर्थिक नीतिको मस्यौदा भद्धा र नबुझिने खालको रहेको बताए । केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले सरकारमा रहेका बेला अर्थमन्त्रीले ल्याए जस्तो आर्थिक नीति ल्याइएको भन्दै आक्रोश जनाए ।

‘कांग्रेसले अबका दिनमा कस्तो आर्थिक नीति अवलम्वन गर्ने भनेर मस्यौदा ल्याउनु पर्नेमा त्यस्तो पाइएन’, उनले भने, ‘सरकारमा रहेका बेला अर्थमन्त्रीले ल्याएको जस्तो आर्थिक नीति भयो ।’ सरल रुपमा बुझ्ने गरेर आर्थिक नीति आउन नसकेको उनले गुनासो गरे । डा.रिजालले भने, ‘आर्थिक नीतिमा यो गर्छु, त्यो गर्छु भनेर राखिनु उचित भएन ।’

केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेसको प्रस्तावित आर्थिक नीतिले सहकारीलाई समेटन नसकेको भन्दै चर्को आलोचना गरे ।

‘वीपी कोइरालाले ०१८ सालमा नै सहकारीको नीति ल्याउनु भएको थियो । कांग्रेसले ०४८ सालमा बजेटमा राखेर सहकारीलाई अगाडि बढाएको थियो । कांग्रेसले सहकारीलाई भुल्नु हुँदैन’, नेता खाँडले भने, ‘कांग्रेसका लागि तयार पारिएको भनिएको आर्थिक नीतिको प्रस्तावमा सहकारी नै छुटाउनु गम्भीर गल्ती हो ।’ उनले सहकारीको विषयलाई छुट्टै व्यवस्था गर्न सुझाव दिए ।

पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा.रामशरण महतले प्रस्तावित आर्थिक नीतिमा कांग्रेसले गरेका राम्रा कुरा र भावी योजनाहरू समेट्न नसकेको भन्दै आपत्ति जनाए ।

‘कांग्रेसले यो देशको आर्थिक वृद्धिदर बढाउन धेरै ठूलो काम गरेको छ । गरिवी हटाउन र रोजगारी सिर्जना गर्न कांग्रेसले महत्वपूर्ण आर्थिक नीति ल्याएको छ’, डा.महतले भने, ‘कांग्रेसले गरेका राम्रा कुरालाई छुटाउनु हुँदैन थियो । कांग्रेसले भावी दिनमा के गर्छ त्यो पनि मस्यौदामा राख्नुपर्छ ।’

पूर्वअर्थमन्त्री डा.महतले कांग्रेसकै कारण मुलुकमा ठूला ठूलो योजना, सडक, बिद्युत्, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा सर्वसाधारणको पहुँच पुगेको बताए । उनले कांग्रेसले गरेका राम्रा कुरालाई महत्व दिएर जनतालाई बुझाउनुपर्ने बेला आएको बताए ।

नेपाली कांग्रेसले सहमहामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा महासमिति बैठकमा पेश गर्ने गरेर आर्थिक नीतिको मस्यौदा तयार पार्न समिति बनाएको थियो ।

सोही समितिले बनाएको आर्थिक नीतिको मस्यौदा अपूर्ण र अप्रयाप्त रहेको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गरेका हुन् । नेताहरूले प्रस्तावको आलोचना गरे पनि बैठकले मस्यौदालाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

Published : Monday, 2018 December 10, 6:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया