कार्यकर्ताको घरघरमा पुग्दै दाङ कांग्रेस, नेताहरूलाई पठाए घत लाग्ने सन्देश

मसुरिया । नेपाली कांग्रेस दाङको क्षेत्र नं. १ ले राप्ती गाउँपालिकामा गाउँ जागरण र प्रशिक्षण कार्यक्रम गरेको छ ।

राप्ती गाउँपालिकामा आइतबार भएको कार्यक्रममा उल्लेख्य नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । स्थानीय कार्यकर्ताहरूले कांग्रेसप्रति जनताको झुकाव अझै पनि रहेको भन्दै यसै गरी देशभरि जनजागरण अभियान र प्रशिक्षणका कार्यक्रम गर्न सुझाव दिए ।

कार्यकर्ताहरूले नेताहरूले कांग्रेसलाई पहिलाकै अवस्थामा ल्याउन संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका थिए । राप्ती गाउँपालिकाका स्थानीय कार्यकर्ताहरूले केन्द्रका ठूला र शीर्ष नेताहरूलाई गुटउपगुट छाडेर कांग्रेस बनाउन सुझाव दिए । उनीहरूले कम्युनिस्टहरूले मिच्ने प्रवृत्ति देखाउन थालेको भन्दै त्यसको मुकाविला गर्ने समय आइसकेको बताए ।

जवाफमा कांग्रेसका नेताहरूले अबको साढे चार वर्ष नेताहरूले गाउँमै अभियान चलाउने आश्वासन दिएको पूर्वसांसद एवम् कांग्रेसका युवा नेता योगेन्द्र चौधरीले जानकारी दिए ।

‘दाङ कांग्रेसले जनजागरणको अभियान चलाएको छ । धेरै खालको सुझावहरू आएका छन् । हामी सुध्रिनु पर्छ । त्यसको बिकल्प छैन’, उनले भने, ‘दाङका नेताहरू विभिन्न गाउँमा पुगेर कार्यकर्ताको सुझाव लिने काम भैरहेको छ ।’

क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले जिल्ला सभापति, पूर्वसभापति र जिल्ला नेताहरूसहितको टोलीले विभिन्न गाउँ र टोलमा पुगेर प्रशिक्षण र कांग्रेसको भावी नीतिका बारेमा जानकारी गराएको बताए ।

कांग्रेसले निर्वाचनमा ब्यहोरेको हारको समिक्षा गर्न दाङ कांग्रेसले जनजागरण र प्रशिक्षणको कार्यक्रम गर्दै आएको छ । नेताहरू एक भएको सन्देश दिन पनि गाउँ अभियानमा जुटेका हुन् ।

Published : Monday, 2018 December 10, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया