लैनचौरको धम्कीपछि डराए निधि, स्वागतमा आफै पुग्ने

काठमाडौं । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनलाई लिएर जथाभावी अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको क्रियाकलापबाट भारतीय पक्ष अझै पनि सन्तुष्ट हुन सकेको छैन ।

केही हप्ता अगाडि बानेश्वरस्थित आफ्नै निवासमा राति आकस्मिक पत्रकार सम्मेलन गरेर योगी आदित्यनाथको विषयमा अन्टसन्ट अभिव्यक्ति दिएका निधिको गतिविधिबाट नेपालका लागि भारतीय राजदूतावासले चासो र चिन्ता देखाएको थियो ।

स्रोतका अनुसार निधिलाई भारतीय राजदूतावासका एकजना उच्च अधिकारीले दूतावासभित्रै बोलाएर योगी आदित्यनाथको विरोध गरेको विषयमा जानकारी लिएका थिए ।

त्यस क्रममा निधिले योगी आदित्यनाथको आफूले विरोध नगरेको भन्दै पत्रकारहरुले बङ्ग्याएर समाचार लेखेको स्पष्टीकरण दिएको स्रोतको भनाइ छ ।

भारतीय दूतावासभित्रै भएको विश्वप्रसिद्ध तवलावादक उस्ताद जाकिर हुसेनको कार्यक्रममा निधिलाई बोलाइएको थियो । निधि तोकिएको समयभित्र पुगेर पूरै अवधि कार्यक्रम हेरेर बाहिरिएको स्रोतले जनाएको छ । सोही क्रममा निधिलाई भारतीय दूतावासका एक उच्च कर्मचारीले योगी आदित्यनाथको विरोध नगर्न चेतावनी दिएको स्रोतले दाबी गरेको छ ।

निधिको गतिविधिले नेपाल र भारतबीच सुमधुर बन्दै गएको सम्बन्धलाई समस्या बनाएको लैनचौरको दाबी छ । निधिले पनि नेपाल र भारतका जनता तथा हिन्दूधर्मालम्बीहरुलाई ठेस पुग्ने गरेर अभिव्यक्ति दिएपछि जनकपुरधामका स्थानीयले चिन्ता जनाएका थिए ।

कांग्रेसका उपसभापति निधिले योगी आदित्यनाथलाई राजा फिर्ता गराउन भूमिका खेलेको, हिन्दूराष्ट्रको पक्षमा रहेको जस्ता आक्षेपहरु लगाएका थिए । निधिको आक्षेपपछि भारतीय राजदूतावासले चासो र चिन्ता देखाएको थियो ।

भारतीय राजदूतावासले जाकिर हुसेनको कार्यक्रमका लागि निधिलाई निमन्त्रणा पठाएको थियो । दूतावासबाट फोन गरेर ‘तपाई आउनु पर्दैन’ भनेर भनिएको थियो । तर, निधि कार्यक्रमका लागि टुप्लुक्क पुगेको उच्च स्रोतले जनाएको छ ।

भारतीय दूतावासको चेतावनीपछि कांग्रेसका उपसभापति निधि गलेका छन् । निधिले धनुषा कांग्रेसका सभापति महेशशंकर गिरीलाई योगी आदित्यनाथको भव्यस्वागतका लागि तयारी गर्न निर्देशन दिएका छन् । पहिला पत्रकार सम्मेलन गरेर योगी आदित्यनाथको विरोध गर्ने निधि एकाएक किन स्वागत गर्ने योजनामा पुगे भनेर सोधिखोजी हुन थालेको छ ।

जनकपुरधाममा मंसिर २६ गते विवाह पञ्चमीको भव्य कार्यक्रम हुँदै छ । योगी आदित्यनाथले भारतको उत्तरप्रदेशस्थित राम जन्मभूमि अयोध्याबाट जन्ती लिएर जनकपुरधाममा आउँदै छन् । योगी आदित्यनाथलाई स्वागत गर्न कांग्रेसका उपसभपाति निधि आफै उपस्थित हुने धनुषा कांग्रेसले जनाएको छ ।

Published : Sunday, 2018 December 9, 4:37 pm

2 प्रतिकृया प्राप्त “लैनचौरको धम्कीपछि डराए निधि, स्वागतमा आफै पुग्ने”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया