गाउँका जनतालाई केन्द्रमा राखेर कांग्रेसले बनायो आर्थिक नीति

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको अर्थ नीति गलत भएको जनाएको छ ।

ललितपुरस्थिट पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा कम्युनिस्ट सरकारले लिएको अर्थ नीति गलत रहेको दाबी गरिएको छ ।

कांग्रेसको अर्थ नीतिसम्बन्धि प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गर्दै डा.प्रकाशशरण महतले सरकारले नियन्त्रण र निषेधमा आधारित अर्थ नीति लिएको बताए । सोही कारण मुलुकको समृद्धि सम्भव नरहेको उनले बताएका छन् ।

‘सरकारले लिएको गलत आर्थिक नीतिले गत वर्षभन्दा यस वर्ष वैदेशिक लगानी ७५ प्रतिशत कम हुन गएको छ’, उनले भने, ‘सरकारको गलत नीतिले स्वदेशी पूँजी पलायन हुन पुगेको छ ।’

डा.महत नेतृत्वको आर्थिक समितिले केन्द्रीय समितिमा पेश गरेको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने जनाएको छ ।

प्रतिवेदनमा आर्थिक नीति र प्रजातान्त्रिक समाजवादी बाटोबाट मुलुकलाई समृद्ध बनाउने सकिने निष्कर्ष निकालिएको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता दिने घोषणा गरेको थियो । कांग्रेसको प्रस्तावित नयाँ आर्थिक नीतिमा यो विषय उल्लेख गरिएको छ ।

जटिल प्रकारका रोगीहरुलाई उपचार भत्ता दिने नीति पनि अगाडि बढाउने, वर्षमा १२० दिनको रोजगारी सुनिश्चित गर्नुका साथै युवा उद्यमीहरुलाई सहुलियतपूर्ण ऋण दिने जस्ता विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

सबैलाई कम्तिमा एक–एक गिलास दूध भन्ने जस्ता नारा नै दिएर आर्थिक नीति प्रस्ताव गरिएको छ ।

बी.पी. कोइरालाले भने जस्तै एक एक थोपा दूध हैन, कम्तिमा एक–एक गिलास दूध भन्ने अवधारणा अनुरुप उत्पादन वृद्धि र न्यायोचित वितरण लक्षित समुदाय एवं पछाडि परेका वर्ग र समूहमा पुर्‍याउने लक्ष्यतर्फ कांग्रेसको नीतिहरू उन्मुख हुनेछ ।

स्वास्थ्य र शिक्षाको गुणस्तरीय विस्तारका लागि सबैका लागि गुणस्तरीय स्वास्थ्य र सबैको लागि गुणस्तरीय शिक्षाको अवधारणालाई कार्यान्वयन गर्ने जस्ता विषय पनि कांग्रेसको प्रस्तावित आर्थिक नीतिमा उल्लेख छ ।

Published : Wednesday, 2018 December 5, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया