नेकपाभित्र प्रदेशको सूचीले खैलाबैला, साना दलको नामोनिशान गायब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले पूर्णता पाएसँग असन्तुष्टिका स्वर बढ्न थालेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिलाई छल्न खोजेको भन्दै नेताहरूले विरोध जनाएका छन् । असन्तुष्ट नेताहरूले ओली र प्रचण्डले नेकपाभित्र मनपरी गरेको भन्दै आक्रोश व्यक्त गरे ।

नेकपाको मंसिर १२ गतेको सचिवालय बैठकको निर्णय भन्दै महासचिव विष्णु पौडेलले सोमबार सात वटा प्रदेशका सदस्यहरूको नामावली सार्वजनिक गरेका थिए । सार्वजनिक भएको नामावलीमा समायोजना भएका चुरेभावर राष्ट्रिय एकता पार्टीसहितका साना दलका सदस्यहरूको नामै राखिएको छैन ।

सचिवालयले स्थायी समितिमा प्रदेश कमिटी सदस्यहरूको नाम प्रस्ताव गर्ने र स्थायी समितिले छलफल गरेर निर्णय गर्नुपर्नेमा सचिवालयलाई नै कार्यकारी बनाउन खोजिएको केही नेताहरूको आरोप छ ।

स्थायी समिति सदस्य बेदुराम भुसालले ओली–प्रचण्डको कार्यशैलीले पार्टीको कमिटी प्रणाली समाप्त हुने चेतावनी दिएका छन् ।

स्थायी समिति सदस्य घनश्याम भुसालले पनि कतिपय वरिष्ठ र योग्य व्यक्तिहरूलाई प्रदेश कमिटीमा पाखा लगाइएको बताए । उनले यसबारेमा स्थायी समितिमा छलफल हुने बताएका छन् । भुसालले भागबण्डाका आधारमा केही नेताहरू मिलेर सूची बनाएको आरोप लगाए ।

विधानअनुसार कम्तिमा ३ महिनामा एकपटक बस्नुपर्ने स्थायी समिति बैठक ५ महिनादेखि बसेको छैन ।

Published : Tuesday, 2018 December 4, 10:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया