निर्मलाका लागि जनआन्दोलन जस्तै बन्यो देश, ठाउँ-ठाउँमा प्रदर्शन

काठमाडौं । निर्मला पन्तका दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै विभिन्न जिल्लाहरूमा प्रदर्शन भएका छन् ।

रौतहट, नवलपरासीसहितका जिल्लाहरूमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध नारावाजी भएका थिए ।

निर्मला पन्तलाई न्याय माग गर्दै मंगलबार प्रदर्शन भएका हुन् । हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै रौतहटका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा जनज्योति बहुमुखी क्याम्पस र जनज्योति उच्च माध्यमिक विद्यालयका विद्यार्थी सहभागी थिए ।

निर्मलालाई न्याय दे भन्दै विद्यार्थीले नारावाजीसहित चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनीहरूले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरू बजारको चोक चोकमा टाँसेका छन् ।

उता, निर्मला पन्तलाई न्याय माग गर्दै नवलपुर जिल्लाको कावासोतीमा विद्यार्थीले सडक अवरुद्ध गरेका छन् । उनीहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरी सडक अवरुद्ध गरेको हुन् ।

कुमारवर्ती बहुमुखी क्याम्पसका विद्यार्थीले मंगलबार बिहान पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । निर्मलाको फोटो रहेको प्लेकार्डमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखे प्रदर्शन गरिएको थियो ।

उनीहरूले ‘ए सरकार कता छ ?, निर्मलालाई न्याय दे’ ‘सरकार भेटियो, न्याय भेटिएन’ जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । सरकारले पोष्टर टाँस्न रोक्दै गर्दा स्थानीय युवाले निर्मलाका न्याय निम्ति पोष्टर टँस्ने अभियान थालेका छन् ।

Published : Tuesday, 2018 December 4, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया