कांग्रेसका गाउँका कार्यकतालाई पनि मन पर्ने राजनीतिक र आर्थिक दस्तावेज तयार

काठमाडौं । संगठनलाई नयाँ स्वरुपमा लैजान लागेको नेपाली कांग्रेसले राजनीतिक र आर्थिक दस्तावेजको मस्यौदा तयार पारेको छ ।

महासमिति बैठकको तयारी गरिरहेको कांग्रेसले राजनीतिक र आर्थिक दस्तावेजलाई अनुमोदन गराएर सोहीअनुसार संगठन सुदृढीकरण गर्नेछ ।

१३ औं महाधिवेशनपछि पहिलो पटक बस्न लागेको महासमिति बैठक मंसिर २८ गतेदेखि काठमाडौंको शुरू हुँदैछ ।

उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक र सहमहामन्त्री डा.प्रकाशशरण महत संयोजकत्वको आर्थिक प्रस्ताव समितिले दस्तावेज लेखिसकेका छन् ।

राजनीतिक प्रस्तावको प्रारम्भिक लेखन आइतबार सकिएको छ । केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको विज्ञहरू सहभागी समितिले प्रस्ताव तयार पारेको हो ।

राजनीतिक प्रस्ताव लेखन समितिका सदस्य पुरुषोत्तम दाहालले १७ भन्दा बढी फरक प्रस्तावलाई एकीकृत गरिएको जानकारी दिए । राजनीतिक प्रस्तावलाई मस्यौदा समितिमार्फत बुधबारभित्र केन्द्रीय समितिमा पेश गर्नेछ ।

उपसभापति निधि संयोजकत्वको समितिले राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य आचार्यलाई दिएका थिए । आचार्यले अरू सात जना विज्ञको सहयोगमा पाँच दिन लगाएर पार्टीको राजनीतिक प्रतिवेदनको ड्राफ्ट तयार पारेका हुन् ।

राजनीतिक प्रतिवेदन एकपटक पुनर्लेखन गर्ने बताउँदै आचार्यले प्रस्ताव मस्यौदा समितिमा पठाएर केन्द्रीय समितिमा प्रस्तुत गरेपछि अनुमोदन गरी महासमितिमा पठाइनेछ ।

मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म चल्ने महासमिति बैठकमा कांग्रेसले पार्टीले अवलम्बन गर्ने आर्थिक नीति पनि पेश गर्नेछ ।

सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले आर्थिक प्रतिवेदन लेखन सम्पन्न गरिसकेको छ । कांग्रेसले आर्थिक विकासको लक्ष्य उत्पादन बढाउने प्रतिवेदनमा उल्लेख गरेको छ ।

उत्पादन बढाएर आम नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउनेछ । लक्ष्यमा पुग्ने साधन समयसापेक्ष फरक पर्न सक्छ । नागरिक, निजी क्षेत्र र सहकारीलाई सक्रिय बनाएर उत्पादन वृद्धि गर्न सकिने प्रतिवेदनमा लेखिएको छ ।

पार्टीको नीति महासमिति बैठकले तय गर्ने कांग्रेसको विधानमा छ । महासमितिमा देशभरको २४० निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले एक हजार २ सयका साथै केन्द्रीय सदस्यहरू ८५ जना र विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधि बैठकमा सहभागी हुँदैछन् ।

Published : Monday, 2018 December 3, 7:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया