निर्मलाका पोस्टर च्यातिएका बेला ओलीका सल्लाहकारले मागे सुन्दरीलाई भोट

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले चीनमा विश्व सुन्दरी प्रतियोगितामा भाग लिइरहेकी श्रृङखला खतिवडाका लागि भोट मागेका छन् ।

सल्लाहकार रिमाल शनिबार साँझ श्रृङखला खतिवडाको एउटा लिङ्क ट्वीट गर्दै भोट मागेका हुन् । उनले भनेका छन्, ‘भोलिको नतिजाको लागि १ लाख सेयरको अपील ! तपाइको एक सेयरले १०० भोट आउन सक्छ, सक्दो सेयर गरौं !’

ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले आफ्नो ट्वीटसँग नामै नसुनिएको एउटा अनलाइनको समाचार लिङ्क शेयर गरेका छन् । रिमालले जति नै अपील गरे पनि शनिबार राति भएको हेड टू हेड प्रयोगितामा श्रृङखला खतिवडा पराजित भएकी छिन् । उनलाई सिङ्गापुरकी सुन्दरीले नराम्रोसँग पराजित गरिदिएकी छिन् ।

चीनमा विश्व सुन्दरी प्रयोगितामा सहभागी भैरहेकी श्रृङखला खतिवडा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् नेता विरोध खतिवडाकी छोरी हुन् ।

श्रृङखला खतिवडाकी आमा मकवानपुर जिल्लाको तत्कालीन नेकपा (एमाले)को जिल्ला अध्यक्ष समेत हुन् । श्रृङखला खतिवडालाई जिताउन भन्दै कम्युनिस्ट नेताहरूले समाचार र फेसबुकका लिङ्कहरू सेयर गर्ने गरेका छन् ।

महेन्द्रनगरकी किशोरी निर्मला पन्तले न्याय नपाएको चार महिना भैसक्दा पनि कम्युनिस्ट सरकारले वास्ता नगरेको भनेर आलोचना भैरहेको छ । निर्मलालाई न्याय माग गरेर टाँसिएका पोस्टरहरू प्रहरी लगाएर सरकारले च्यात्न लगाइ रहेको छ । पोस्टर टाँस्नेलाई पक्राउ गरिएका छन् ।

तर, प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकार रिमाल भने सुन्दरी जिताउने अभियानमा लागेको भनेर विरोधीहरूले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

Published : Sunday, 2018 December 2, 11:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया