निर्मलालाई न्याय माग्दै आइतबार देशैभरि आन्दोलन चर्किने

काठमाडौं । निर्मला पन्तका दोषीहरूलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आइतबार देशैभरि आन्दोलन चर्किने भएको छ ।

काठमाडौं, पोखरासहित विभिन्न स्थानमा निर्मला पन्तलाई न्याय माग गरेर टाँसिएका पोस्टर कम्युनिस्ट सरकारले च्यात्न लगाएका बेला आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदर्शन गर्न लागेको हो ।

नेकपाले सबै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र प्रदर्शन गर्न लागेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् । नेकपाले सत्तामा रहेकाहरूले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै आएको छ ।

उता, निर्मला पन्तलाई न्याय माग गरेर पोखरामा शनिबार टाँसिएका पोस्टहरू प्रहरीले च्यातेको छ । पोस्टर च्यात्ने क्रममा स्थानीयले विरोध गरेका थिए ।

शनिबार राजधानीमै निर्मला पन्तका दोषीलाई कारबाहीको माग गरेर प्रदर्शन भएका छन् । प्रदर्शनमा कम्युनिस्ट सरकारको गृह प्रशासन निकम्मा भएको तथा दोषीलाई बचाउन सत्तामा रहेकाहरू नै क्रियाशील भएको भन्दै आलोचना गरे ।

उता, कञ्चनपुरमा स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । महेन्द्रनगरमा शनिबार बसेको बैठकले सरकारलाई दवाव दिन पुनः आन्दोलनको घोषणा गरेको हो ।

Published : Saturday, 2018 December 1, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया