कांग्रेसका सांसदहरूको मागले मधेसी जनताको मन जित्यो, विवादमा परिन् रेखा

जनकपुरधाम । नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अभिनेत्री रेखा थापालाई ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा संलग्न गराएको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको आलोचना गरेका छन् ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अभियानमा रेखा थापालाई संलग्न गराएपछि कांग्रेसका सांसदहरूले विरोध गरेका हुन् । बुधबार बसेको प्रदेश २ को संसद बैठकमा शून्य समय लिएर बोल्दै कांग्रेसका सांसदहरूले मधेस मूलका अभिनेत्रीहरूलाई नै अभियानमा सहभागी गराउन माग गरेका थिए ।

कांग्रेसका सांसद शिवचन्द्र चौधरीले अभियानमा रेखा थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘अभियान प्रदेशको हो कि मुख्यमन्त्री लालबाबु राउतको निजी अभियान हो ?’ सांसद चौधरीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा मधेस मूलकी नायिकालाई सहभागी गराउन आग्रह गरे ।

काग्रेसका अर्का सांसद नरेश यादवले मधेस मूलका धेरै कलाकारहरू रहेको भन्दै उनीहरूलाई नै सामेल गर्न सुझाव दिए ।

कांग्रेसकी सांसद सरस्वती चौधरीले पनि अभिनेत्री रेखा थापाको आलोचना गरिन् । उनले रेखा थापालाई अभियानमा संलग्न गराउनै नमिल्ने बताइन् ।

मुख्यमन्त्री राउतले रेखा थापालाई अभियानसँग एकलौटी निर्णय गरेर जोडेपछि नेपाली कांग्रेसले विरोध गरेको हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की केन्द्रीय सदस्य हुन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की सांसद सुरिता साहले अभियानमा महिला संसदलाई सहभागी गराउन माग गरेकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद ज्वाला साहले अभियानमा मुख्यमन्त्री लालबाबु राउतको प्रदेश सरकारले बजेटमा अनियमितता गरेको आरोप लगाइन् । उनले प्रदेश सरकारलाई भ्रष्टाचार नगर्न चेतावनी दिएकी छिन् ।

Published : Wednesday, 2018 November 28, 4:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया