कांग्रेसले एक वर्ष अगाडि ल्याएको कार्यक्रम ओलीले यसरी ओगटे

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले तामझामक साथ मंगलबार घोषणा गरेको ‘नयाँ युगको शुरुवात’ अर्थात ‘सामाजिक सुरक्षा कार्यक्रम’ नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको खुलासा भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पालामा कांग्रेसको तर्फबाट मन्त्री बनेका फर्मुल्लाह मन्सुरले सामाजिक सुरक्षा कार्यक्रमको ऐन पारित गराएका थिए ।

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले कांग्रेसकै पालामा आएका सामाजिक सुरक्षा कार्यक्रमलाई तामझाम गरेर प्रचार गर्नुभन्दा कार्यान्वयनमा लगेको भए राम्रो हुने भनेर प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पत्रकार पाण्डले भनेका छन्, ‘ओलीजीले आफ्नो कुभलो चिताउने खोज्न टाढा जान पर्दैन । आफ्नै छेउमै हेरे पुग्छ । आज (मंगलबार) जसले पोल पोलमा झुण्डाएका छन्, भोली तिनैले बादशाहको नयाँ नयाँ पोशाक लगाएर बजार बजार घुमाउनेछन् ।’

पत्रकार पाण्डले अगाडि लेख्छन्, ‘अहिले होइन, उहिलै २०७४ साल मै आएको सामाजिक सुरक्षा कार्यक्रम साँच्चिकै लागू गर्नुस् न ! नाथे प्राणहीन पोलमा के झुण्डिनु ? जीवित, जनताको मनमा बस्नुस् न ।’

नेपाल ट्रेड युनियन कांग्रेसका नेता खिलनाथ दाहालले नेपालका ट्रेड युनियनहरूको लामो समयको प्रयत्नको परिणाम स्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकार र कांग्रेसका नेता एवम् श्रममन्त्री फर्मुल्लाह मन्सुरको विशेष पहलमा २०७४ सालमा जारी गरिएको सामाजिक सुरक्षा ऐन २०७४ मा आधारित सामाजिक सुरक्षा योजना मंगलबारदेखि लागू भएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘सामाजिक सुरक्षा योजनामा सहभागी बनौं सुरक्षित भविष्य सुनिश्चित गरौं’, दाहालले भनेका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीको तस्बिर बिजुलीको पोलमा झुण्ड्याउनुका साथै पत्रिकाहरूमा फुल पेज विज्ञापनसहित घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रमलाई ‘नयाँ युगको शुरुवात’ भनिएको थियो । श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसहितका कम्युनिस्ट सरकारका मन्त्रीहरूले सामाजिक सुरक्षालाई आफूहरूले नयाँ कार्यक्रमका रुपमा ल्याएको भन्दै दाबी गरेका छन् ।

संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्दा नेपाली कांग्रेसले एक वर्ष अगाडि सामाजिक सुरक्षा ऐन ल्याएको थियो ।

Published : Wednesday, 2018 November 28, 11:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया