३३ किलो सुनकाण्डमा यी व्यापारी पक्राउ पर्दा ओली रिसाए, मल्होत्रा बेपत्ता

काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डमा व्यापारी विमल पोद्दारलाई पक्राउ गरेर बयान लिएपछि कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली रिसाएको खुलासा भएको छ ।

३३ किलो सुनकाण्ड अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिले व्यापारी पोद्दारलाई पक्राउ गरेर हिरासतमा राखेर बयान लिएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेको अनलाइन खबरले सोमबार प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाइएको चार महिना पुगिसक्दा पनि थप अनुसन्धानको जिम्मेवारी प्रहरीको कुनै निकायले पाएको छैन ।

३३ किलो सुनकाण्डका बारेमा प्रहरीमा केही सूचना पनि आएका छन् । समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै अड्किएको अवस्थामा रहेकाले केही गर्न नसकेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

अनलाइन खबरका अनुसार असार ६ गते व्यवसायी विमल पोद्दार पक्राउ परेसँगै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक समेत हुन् ।

पोद्दारलाई पक्राउ गरेर ३३ किलो सुनकाण्डका बारेमा सोधपुछ गर्दा ओली किन रिसाएका हुन् समाचारमा केही भनिएको छैन । प्रधानमन्त्री चीन भ्रमणमा गएका वेला समितिले पोद्दारलाई पक्राउ गरेको थियो ।

छानविन समितिसमक्ष पोद्दारले साथी एवम् सामसङ मोबाइल कम्पनीका नेपालका मालिक दीपक मल्होत्रा, केही पूर्वमन्त्री र अवकाशप्राप्त प्रहरी अधिकारीहरूको नाम बयानका क्रममा दिएका थिए । दीपक मल्होत्रा दुबईमा बस्दै आएका छन् ।

पोद्दारको बयानपछि प्रधानमन्त्री ओलीले समितिलाई अनुसन्धान छिटो निष्कर्षमा पुर्‍याउन दबाव दिएका थिए । अहिले आएर ओलीले ३३ किलो सुनकाण्डको फाइल किन लुकाएर राखेका छन् केही बताइएको छैन ।

छानविन समितिले प्रतिवेदन बुझाउँदा २९३ जनालाई शंकास्पदको सूचीमा राखेको छ ।

सूचीमा घरानिया व्यापारीदेखि पूर्वमन्त्रीसम्मको नाम मुछिएको थियो । जसमा अधिकांश पूर्वमन्त्री र व्यापारीहरू कम्युनिस्ट पृष्ठभूमिका छन् ।

३३ किलो सुनकाण्डका आरोप ठाकुर ढुंगाना दुबईमा मस्ती गरेर बस्दै आएका छन् । एनआरएन वा नेपालीहरूका कार्यक्रममा मुख्य व्यक्ति भएर सहभागी हुने गरेका छन् ।

Published : Monday, 2018 November 26, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया