कम्युनिस्ट नेता नेपाल र मन्त्रीहरूले आकाशमा उडाए सात लाख

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली सेनाको हेलिकप्टर तीन घण्टासम्म आकाशमा उठाएका छन् ।

सेनाको हेलिकोप्टरमा सोमबार बाराको निजगढका लागि उडेको नेता नेपाल नेतृत्वको टोली जमिनमा नओर्लिएर काठमाडौं फर्किएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरको विमानस्थलको स्थलगत अनुगमन गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न नेता नेपालको संयोजकत्वमा असोज १२ गते पाँच सदस्यीय समिति गठन गरेको थियो ।

उपसमितिले यसअघि निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गरेर सोमबार निजगढ गएपनि समय अभाव भएको भन्दै आकाशबाटै फर्किएको उपसमितिका सदस्य दीव्यमणिराज भण्डारीले बताए । भण्डारीले निजगढ विमानस्थलका बारे केही भन्न नसक्ने भन्दै घना जंगल माथिबाट हेरेर फर्किएको बताए ।

विमानस्थल निर्माण क्षेत्रको अध्ययनका लागि स्थल मार्गबाट अर्कोपटक जाने भण्डारीले बताएका छन् । उनले सोमबारको भ्रमण औपचारिकता मात्र भएको भन्दै सरकारी पैसा खर्च स्वीकार गरे ।

सेनाको हेलिकोटप्टरमा उपसमिति संयोजक नेपाल, भण्डारी, उपसमितिकी सदस्य निर्जला राउत, वनमन्त्री शक्तिबहादुर बस्नेत, पर्यटनमन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, वातावरणविद् सुरेश श्रेष्ठलगायत सहभागी थिए ।

कम्युनिस्ट सरकारले निजगढमा विमानस्थल बनाउन २४ लाख ५० हजार रुख काट्नुपर्ने उल्लेख गरेको छ ।

औपचारिकताका लागि मात्र आकाशबाट गरिएको अनुगमनले राज्य स्रोतको दोहन भएको भनेर आलोचन भएको छ ।

सरकारी प्रयोजनका लागि सेनाको हेलिकोप्टर प्रतिघण्टाका दुई हजार डलर तिर्नुपर्छ । उपसमितिले सोमबार तीन घण्टाभन्दा बढी हेलिकोप्टर प्रयोग गरेको छ ।

सेनाको हेलिकप्टर प्रयोग भए वापत ३ घण्टाको करीव सात लाख नोक्सान भएको छ । हेलिकप्टरबाट अनुगमन गर्न जानेमा अधिकांश सत्तारुढ नेकपाका मन्त्री र सांसद छन् ।

Published : Monday, 2018 November 5, 9:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया