दाङ राजधानी र मुख्य मन्त्रीबारे केपी ओली खुल्न सकेनन्

घोराही । एमालेका अध्यक्ष केपी ओलीले चुनावमा वामपन्थीहरूको पक्षमा माहोल देखेर नेपाली कांग्रेस छटपटाएको आरोप लगाएका छन् ।

दाङको घोराहीमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीले वामपन्थीहरूसँग पराजित हुने डरले कांग्रेस आत्तिएको बताए । ‘नेपाली कांग्रेस छटपटाएको छ । हार्छु भन्ने डर छ’, उनले भने, ‘चुनावपछि वामपन्थीहरूको सरकार बन्छ । आरामदायी बहुमत ल्याउँछौँ ।’

माओवादी लोकतान्त्रिक व्यवहार र अभ्यासमा रहेको भन्दै ओलले भने, ‘माओवादी पहिलाको जस्तो छैन । लोकतान्त्रिक भएको छ । निर्वाचनपछि पार्टी एकीकरण हुन्छ । वामपन्थीहरूको वाम गठबन्धन गरेर निर्वाचनमा गएका छौँ ।’

एमालेका अध्यक्ष ओलीले कांग्रेसले सत्ताको आडमा चुनाव प्रदुषित बनाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘चुनावमा धाँधली भयो भने त्यस्तो दुषित परिणाम लोकतन्त्रमा मानिदैन । हामी यत्तिकै चुनावमा संयुक्त भएका होइनौँ । पार्टी एकीकरण गर्ने भनेर तालमेल गरेका हौँ । आरामदायि बहुमत ल्याउँछौँ । त्यसपछि सरकार बन्छ ।’

निर्वाचनपछि पहिला पार्टी एकीकरण हुन्छ कि सरकार बन्छ ? भन्ने प्रश्नमा ओलीले भने, ‘पार्टी एकीकरणभन्दा अगाडि सरकार गठन हुन्छ । त्यसपछि पार्टी एकीकरणको कुरा अगाडि बढ्छ ।’

दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने विषयामा सोधिएको प्रश्नको जवाफमा एमालेका अध्यक्ष ओलीले भने, ‘जहाँ गयो त्यही राजधानी भनेर हिँड्ने म होइन । दाङलाई राजधानी बनाउने विषयमा म सकारात्मक छु ।’

त्यसैगरी ओलीले ५ नं. प्रदेशको मुख्य मन्त्रीका बारेमा धेरै टिकाटिप्पणी आवश्यक नरहेको बताए । उनले भने, ‘म जिम्मेवार पार्टीको अध्यक्ष भएको नाताले बोलिसकेको कुरा फेरिफेरि बोलिरहनु पर्छ र ?’ एमालेका अध्यक्ष ओलीले भने, ‘मैले यसअघि जे बोलेको छु । तपाईहरूले जे लेख्नु भएको छ त्यही हो ।’

Published : Thursday, 2017 November 23, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया