लामिछाने र सिरोहिया नागरिकता काण्ड विवादमा परेका बेला यी ३ भारतीयद्वारा नागरिकता लिन खोजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता काण्डको विवादमा परेका बेला झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय किशोर रहेको विज्ञप्तिमा उल्लेख छ ।

ऋषि गुप्ता समेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई वंशज नाताले नागरिकता लिनको लागि झुट्टा विवरण बुझाएका थिए ।

उनीहरूले झुठ्ठा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेश गरेको अनुसन्धानमा खुलेको छ ।

तीन जना भारतीय नागरिकउपर नागरिकता ऐनअन्तर्गतको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइएको छ ।

भारतीय नागरिकहरूले वंशजको नागरिकता लिन गरेको गैह्रकानूनी हर्कतका बारेमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

रास्वपाका सभापति लामिछानेले नेपाली नागरिकता र अमेरिकन नागरिकता एकसाथ लिएका थिए । दोहोरो नागरिकता काण्डमा लामिछानेले सांसद र गृहमन्त्री पद गुमाइसकेका छन् । दोहोरो नागरिकता र राहदानी लिएको प्रकरणमा अदालतमा मुद्दा विचाराधीन छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पनि नागरिकतामा उमेर र वंशजको नागरिकता प्रकरणमा अनुसन्धान भइरहेको छ । सिरोहियालाई प्रहरीले पक्राउ गरेर थुनेको थियो । तर, रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेलाई दोहोरो राहदानी र नागरिकता काण्डमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सकेको छैन ।

Published : Thursday, 2024 June 13, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया