यी हुन् काठमाडौंका ठग कन्सलटेन्सीहरू, संचालकहरू पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छुभन्दै एक हजार जनाभन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकमठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको कोटेश्वर बस्नेहरू सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुराको अमरगढी नगरपालिका–९ का २६ वर्षीय राजेश साउद तथा अछाम रामारोशन गाउँपालिका–१ घर भएका २५ वर्षीय टंकराज खनाल, काठमाडौंको धुम्बाराही बस्ने काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ३५ वर्षीय सन्तवीर घिमिरे रहेको प्रहरीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

रेशम रावलसमेतले काठमाडौं कोटेश्वर र तीनकुनेमा संचालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्ससमेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै गैरकानूनी रूपमा कागजात र रकम संकलन गरेका थिए ।

पीडितको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कन्सलटेन्सीबाट २ सय २० थान राहदानी समेत बरामद गरेको छ ।

उनीहरूले विभिन्न सामाजिक संजालमार्फत विभिन्न देशहरूमा आकर्षक तलब भत्ता सेवा सुविधाहरू पाइन्छ भनी झुट्टा विज्ञापन प्रचार प्रसार गर्ने गरेको, पीडितहरूको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितहरूलाई १ लाख ५० हजारदेखि २ लाख रूपियाँसम्म रकम दिनु अनिमात्र डकुमेन्ट फिर्ता दिने भनी फर्काउने गरेको, विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजातहरू बनाइदिने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 June 13, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया