कांग्रेस सांसद प्रसाइँद्वारा झापा-ईटहरी रेलमार्ग जग्गाको मुआब्जा र दुधको भुक्तानी दिन माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाइँले रेलमार्गका लागि अधिग्रहण भएको जग्गाको मुआब्जा र किसानको दुधको भुक्तानी दिन माग गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद प्रसाइँले झापा–ईटहरी रेलमार्गको नाममा सर्वसाधारणको जग्गा अधिग्रहण गरेर मुआब्जा नदिएको भन्दै छिटो मुआब्जा दिन माग गरिन् ।

उनले भनिन्, ‘यसपालि १८ खर्ब ६० अर्बको बजेट आएको छ । तर, झापादेखि ईटहरीसम्म रेलमार्ग बनाउने भनेर जनताको जग्गा सरकारले अधिग्रहण गरेको छ ।’

‘यसको मुआब्जा पनि दिएको छैन । र, जनताले हाम्रो मुआब्जा दिने की ? हाम्रो जग्गा फिर्ता गर्ने भनेर प्रश्न गरेका छन्’, सांसद प्रसाइँले भनिन् ।

सांसद प्रसाइँले किसानले उत्पादन गरेको दुधको मूल्य समयमा नपाएको भन्दै चिन्ता जनाएकी छिन् । उनले छिटोभन्दा छिटो दुधको भुक्तानी दिन माग गरेकी छिन् ।

उनले भनिन्, ‘कृषि प्रधान देश भनियो । कृषकले दुध उत्पादन गरे । त्यो दुध बेचेको पैसा अहिलेसम्म सरकारले भुक्तानी गर्न सकेको छैन ।’

‘यो पैसा कहिले भुक्तानी हुन्छ ? यसपालि भुक्तानी हुन्छ की हुँदैन ? कृषकहरूले सोधेका छन्’, सांसद प्रसाइँले भनिन् ।

उनले भनिन्, ‘सुखी नेपाली, समृद्धि नेपाले होइन सुखी सरकार दुःखी जनता हो की भन्ने दिन नआओस् भनेर प्रश्न गर्न चाहन्छु ।’

Published : Thursday, 2024 June 13, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया