नेपाल–भारतबीच सांस्कृतिक एकता र परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ : कांग्रेस नेता महर

नयाँदिल्ली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छन् ।

नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि महरले देश दुई संस्कृति एक रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको बताए ।

‘नेपाल–भारत देश दुई भए पनि हामीबीच सांस्कृतिक एकता छ । परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ’, उनले भने, ‘अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ । नयाँ पुस्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्छ ।’

कहिले कुनै कुरामा मनमुटाब देखिए पनि नेपाल–भारतबीच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरले बताएका छन् ।

इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहिँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए ।

पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए ।

युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप बलियो हुने उनले बताएका छन् ।

नेपालको समृद्धिबीना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने महर बताए ।

‘समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ । भारतसँग हाम्रो धेरै कुरा मिल्छ’, उनले भने, ‘खुला सीमा छ । दुवै देशका नागरिकबीच भाइचाराको सम्बन्ध छ । त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पु¥याउनुपर्छ । यसो भएमा दुई देशबीचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ ।’

वीपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोँचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गरेका छन् ।

अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका छन् । त्यहाँ रहेका नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको कांग्रेस नेता महरले बताएका छन् ।

सुनिता कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।

Published : Thursday, 2024 June 13, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया