कांग्रेसको प्रश्न– दुई प्रधानमन्त्रीको वान टू वान वार्तामा बसेकी महिला को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वान टू वान वार्तामा बसेकी महिलाको विषयमा जानकारी माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले प्रधानमन्त्री दाहालसँग छेउमा बसेकी महिलाको बारेमा जानकारी माग गरेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, वान टू वान प्रधानमन्त्री भारतको प्रधानमन्त्रीसँग भेट्दा एउटा नौलो मान्छे प्रोटकलभन्दा पनि बाहिरको मान्छे राखेर बस्नु भएको देखियो । यसको बारेमा पनि प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।’

भारतीय प्रधानमन्त्री मोदीसँगको वान टू वान वार्तामा प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहाल बसेकी थिइन् । गंगा दाहाल कुन हैसियतले बसेकी हुन् प्रधानमन्त्री दाहालले केही भनेका छैनन् ।

सांसद खतिवडाले भारत भ्रमणका विषयमा प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउन माग गरे ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू केही दिन पहिले भारत भ्रमण पुगेर आउनुभयो’, उनले भने, ‘संसद चलिरहेको बेलामा प्रधानमन्त्रीले संसदमा आएर आफूले गरेको भारत भ्रमणको जानकारी दिनुपर्छ कि पर्दैन ?’

Published : Wednesday, 2024 June 12, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया