गलत नीतिले विदेशमा अध्ययनका लागि वर्ष १ खर्बभन्दा धेरै रकम बाहिरियो : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विदेश पढ्न जाने विद्यार्थीबाट एक खर्बहाराहारीमा रकम विदेश गएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले अध्ययनका नाममा विदेश पलायन भइरहेको रकमलाई रोक्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘अहिले पनि उच्च शिक्षा प्राप्त गर्नका लागि नेपाली नागरिकका छोराछोरी झण्डै वर्षको १ खर्बभन्दा बढि पैसा लिएर विदेश जानुपर्ने अवस्था छ । अघिल्लो वर्ष १ अर्ब थियो भने यो वर्ष १ खर्ब ४२ अर्बभन्दा बढि पैसा विदेशमा उच्च शिक्षा प्राप्त गर्न जाने नागरिकहरूले नेपालको रेमिटेन्स ल्याउनुपर्नेमा हाम्रो पैसा उता जाने अवस्था सिर्जना भएको छ । यसलाई स्वदेशमै राख्न, विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने अनि विदेशमा पढेको उच्च शिक्षा दुरदराजमा पुर्‍याउनको सकिएन भने त्यो प्राप्त गरेको शिक्षाको उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन ।’

‘कतिपय शिक्षा गाउँघरतिर कहिँ विद्यार्थी हुन्छन्, शिक्षक हुँदैन । कहिँ शिक्षक हुन्छन्, विद्यार्थी हुँदैनन् । कहिँ विद्यालय हुन्छन् शिक्षक हुँदैन । कहिँ विद्यालय र शिक्षक हुन्छन् त्यसका लागि आवश्यक पूर्वाधार हुँदैन’, खतिवडाले भने ।

उनले भने, ‘राष्ट्रपति शैक्षिक कार्यक्रम छुट्टाइएको केही रकम थियो त्यो रकम स्थगित गरियो । ५ जना शिक्षक हुन्छन् ५ सय जना विद्यार्थी हुन्छन् । यसलाई कसरी लैजाने भन्ने शिक्षाको नीति आए जस्तो मैले अनुभव गरेको छैन ।’

‘यो शिक्षा अत्यन्तै महँगो भएको छ । कतिपय विद्यालयहरूमा फि तिर्न र कपी बोक्न नसक्ने अवस्था विद्यार्थीमा भएको छ । एउटा सानो कक्षमा जाँदै गरेको विद्यार्थीलाई त्यसको किताब झोलामा र वार्षिक महिनावारी फि बोकाएर पठाउने हो भने त्यो झोला बोक्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यसका लागि सरकारले के नीति ल्याउने हो ? त्यो कुरा सरकारले तय गर्नुपर्छ’, उनले भने ।

‘शिक्षकका संघसँग अथवा शिक्षकका प्रतिनिधिसँग गरेका हाम्रा सम्झौताहरू के के थिए ? त्योबारे सम्झौता कार्यान्वयनको बाटोमा हामी गयौँ कि गएनौँ ? त्योबारेमा एउटा स्पष्ट खाका आउनुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु’, उनले भने ।

‘पढ्नका लागि बाहिर मैले अगाडि नै भने खर्बौं पैसा बाहिर जानेलाई स्वदेशमै रोक्ने हामीसँग के योजनाहरू छन् ? त्योबारेमा स्पष्ट रुपमा आएको छैन’, सांसद खतिवडाले भने ।

‘बाहिर पढ्न जाने विद्यार्थीलाई यहाँको शिक्षा नीति असाध्यै राम्रो छ, यहाँको शिक्षाले रोजगारमुलक कार्यक्रम हामी ल्याउन सक्छौँ भन्ने विद्यार्थीमा त्यो धारणा विकास गर्न जबसम्म सक्दैनौँ बाहिर जाने विद्यार्थीलाई रोक्न सक्ने प्रावधान छैन त्यतातिर सरकार ध्यान जाओस्’, खतिवडाले भने ।

‘कतिपय मान्छेहरूले गाउँघरको अवस्था नबुझ्दा, मैले कसैलाई इंगित गर्न खोजेको होइन, एउटा कुनै नीति बनाउने मान्छेलाई ताप्लेजुङ कहाँ पर्छ ? सोधिए छ, यहाँबाट थानकोट, थानकोटबाट यहाँ, यहाँबाट थानकोट यहाँ, यहाँबाट थानकोट, थानकोटबाट यहाँ बीसचोटी आएगएछ त्यो ताप्लेजुङ भनेछ । त्यो ठाउँको ज्ञान भएन भने त्यो ठाउँको बारेमा जानकारी सक्दैनौँ र ज्ञान भएको मान्छेलाई अनुभव र ज्ञानलाई त्यो ठाउँमा पु¥याउनका लागि नीति तयार गरियोस्’, उनले भने ।

‘पहाडी ठाउँमा विद्यालय भवन स्तरीय बन्न नपाएका कारणले विद्यार्थीलाई मर्जका नाममा अन्त लैजाने कारणले समस्याहरू उत्पन्न भएका छन्’, खतिवडाले भने ।

‘विद्यालयमा छाना छाउने अवस्था छैन । कतिपय छानाछाउँदा पूर्वाधार छैन । त्यसका लागि कार्यक्रमहरू स्पष्टसाथ आएका छैनन्’, उनले भने ।

कांग्रेसका सांसद खतिवडाले भने, ‘केवल काठमाडौंका ठूला विद्यालय र सामुदायिक विद्यालयको बदला बोर्डिङ स्कुलहरूलाई लिएर नीति बनाउने काम नगरियोस् ।’

Published : Wednesday, 2024 June 12, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया