भारतले प्रचण्डलाई गरेको भव्य स्वागत एमालेलाई मन परेन, उठायो गम्भीर प्रश्न

काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो घटक एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि भारत भ्रमणका विषयमा प्रश्न उठाएर अविश्वासको संकेत गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालसँग भारत भ्रमणबारे जानकारी माग गरेका छन् । उनले दाहालको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे ।

‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्छ, भारत भ्रमणमा के–के भयो ? नेपाल–भारतबीचको समस्याबारे के–के ठोस कुरा भयो ? संसदले जानकारी पाउनुपर्छ । यो संसदको विशेषाधिकार हो’, एमालेका सांसद पन्तले भने ।

पन्तले सार्क लथालिङ्ग भएको भन्दै चलायमान बनाउन अध्यक्ष राष्ट्रको नाताले नेपालले पहल लिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको भारतमा भ्रमणमा भएका गतिविधिबारे पत्रपत्रिकाबाट थाहा पाएको भन्दै एमालेका सांसद पन्तले आधिकारिक रूपमा सदनमा उभिएर जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । दाहाल सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय बनाउनेदेखि सीमा र पारवहनसँग सम्बन्धित विषय दुवै देशका संयन्त्र सक्रिय पारेर संवादमार्फत समाधान गर्ने, विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गम्भीर छलफल भई सकारात्मक समझदारी बनेको बताएका छन् ।

प्रधानमन्त्री दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै महत्व दिँदै भेटवार्ता र स्वागत गरेका थिए । भारतले गरेको स्वागतबाट दाहाल निकै खुसी छन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति सत्तासाझेदारको सबैभन्दा ठूलो दल एमाले खुसी छैन । दाहालको भारत भ्रमण हुनुभन्दा १÷२ दिन अगाडि एमालेका अध्यक्ष केपी ओलीले नेपाल–भारतबीचको सुमधुर सम्बन्ध बिग्रिने खालका टिकाटिप्पणी गरेका थिए । ओलीका यस्ता गतिविधि र हर्कतबाट प्रधानमन्त्री दाहाल पनि दिक्क छन् ।

Published : Wednesday, 2024 June 12, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया