पन्ध्र करोड र भक्तपुरमा १० लाख ठगेर भागेका केटाहरू पक्राउ

काठमाडौं । विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै करिब १५ करोड रूपियाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिन्छु भनि ३ सय जनाभन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ घर भई पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २२ वर्षीय नवीन बिक र पोखरा महानगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।

फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भनि आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको अभियोग लागेको छ ।

पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपियाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाई राजकुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाखदेखि १० लाखका दरले रकम उठाएर सम्पर्क बिहीन हुने गरेका थिए ।

विगत ३÷४ वर्षदेखि हालसम्म १५ करोडभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यता, भक्तपुरमा लाईट स्टोन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखाको भीमेश्वर नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिका–३ घर भई काठमाडौंको सीतापाईला बस्ने ४२ वर्षीय दिलबहादुर दमाई र नुवाकोटको दुप्चेश्वर नगरपालिका–५ घर भई भक्तपुर दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

अमरबहादुरले आफूसँग लाईट स्टोन छभन्दै लगानी गर्नु फाइदा हुन्छ भनि पीडितलाई प्रलोभन देखाई जेठ २१ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेका थिए ।

पीडितको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको छ ।

Published : Tuesday, 2024 June 11, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया