विद्युतबाट मृत्यु भएका राप्ती ३ का परिवारसहित सबैलाई रोजगारी दिन कांग्रेस सांसद गिरीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको देउखुरी मसुरियाका ३ जनासमेत विगत ८ वर्षमा २ हजार २ सयभन्दा धेरै नागरिकको मृत्यु भएको भन्दै पीडितका परिवारलाई क्षतिपूर्ति र रोजगारीको माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले बिद्युतका कारण मृत्यु भएका पीडितका परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्था नेपाल विद्युत् प्राधिकरणले गर्नुपर्ने माग गरे ।

उनले भने, ‘हालै दाङ जिल्लाको देउखुरी राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया निवासी दिसरा केसी आफ्ना ४ वर्षीय नातीसँगै घरको आँगनतर्फ लाग्दै गर्दा एक्कासि बिजुलीको तार चुँडिन पुग्यो ।’

‘आफ्नी श्रीमती र नातीलाई बिजुलीको तारले बेरेको देखेपछि गोरखबहादुर केसी छुटाउन अगाडि सर्नुभयो’, गिरीले भने, ‘करेन्ट लागेर ३ जनाको दुःख निधन भयो ।’

कांग्रेसका सांसद गिरीले भने, ‘नेपाल प्रहरीको उपर्युक्त कुराको तथ्याङ्क अनुसार २०७३ देखि २०८० सालसम्म ८ वर्षको अबधिमा २ हजार २ सयभन्दा बढि नेपाली नागरिकको मृत्यु विद्युतजन्य कार्यले भएको छ ।’

‘त्यस्तै घाइते र अङ्गभङ्ग हुनेको अवस्था पनि कहाली लाग्दो छ । यस्तो घटना दोहोरिन नदिन पर्यप्त सावधानी अपनाउन मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा घाइते र अङ्गभङ्ग हुनेलाई निःशुल्क उपचार क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न नेपाल सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणसँग जोडदार माग गर्दछु’, सांसद गिरीले भनेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको लापरबाही हलेचेक्र्याइँले गर्दा सर्वसाधारणले बेलाबेला अनाहकमा ज्यान गुमाउनु परेका छन् । प्राधिकरणका कामचोर कर्मचारीले विद्युत् प्रशारण लाईनलाई नियमित चेकजाँच गर्नुपर्नेमा उपरखुट्टी लगाएर बस्ने गरेको आरोप छ । समयमा चेकजाँच नहुँदा सर्वसाधारणले ज्यान गुमाउनु परेका छन् ।

Published : Tuesday, 2024 June 11, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया