मोदीले लिए तेस्रो पटक भारतीय प्रधानमन्त्रीको शपथ

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि शपथग्रहण गरेका छन् ।

आइतबार साँझ नयाँदिल्लीमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । मोदी लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् ।

मोदीले यसअघि सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका थिए । त्यसपछि दोस्रो पटक उनले सन् २०१९ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।

राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित शपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका छन् ।

शपथको कार्यक्रममा बाङ्गलादेश, श्रीलङ्का, भुटान, सेशेल्स, मरिशस र माल्दिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी भएका छन् ।

हजारौँ मानिसहरू सहभागी शपथग्रहण समारोहलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मोदीको अघिल्लो कार्यकालका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, अर्थमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस.जयशङ्कर लगायतका अनुहारहरू भने संघीयमन्त्रीका रूपमा दोहोरिँदै शपथ लिएका छन् ।

शुक्रवार एनडीएका नेताहरूले सर्वसम्मत रूपमा मोदीलाई आफ्नो गठबन्धनको नेता मान्दै र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थिए ।

१८औं लोकसभा निर्वाचनमा मोदी नेतृत्वमा रहेको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए गठबन्धन)ले २९३ सिट जितेको छ ।

सन् २०१९ मा ३०३ सीट जितेको भाजपा यसपटक २४० सीटमा खुम्चिएको छ । कङ्ग्रेसको नेतृत्वमा विपक्षीहरूले इन्डिया नामको गठबन्धन बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । उनीहरूले अपेक्षा गरिएभन्दा २३२ सीट जितेका छन् । एजेन्सी

Published : Sunday, 2024 June 9, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया