बागमती कांग्रेसका सभापति बानियाँद्वारा मनहरीमा ३ पुलको एकसाथ उद्घाटन

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बागमती प्रदेशसभाका सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिकामा तीन वटा पक्की पुलको उद्घाटन गरेका छन् ।

शनिबार सभापति बानियाँले ३ वटा पुलको उद्घाटन गरेको मनहरी गाउँपालिकाले जनाएको छ । महनरी गाउँपालिकाको आन्तरिक स्रोतको करिब १९ करोड रुपियाँको लागतमा पक्की पुलको निर्माण भएका छन् ।

लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये भर्खरै निर्माण कार्य सकिएका ३ वटा पुलको सभापति बानियाँले उद्घाटन गरेका हुन् ।

मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल निर्माण कार्य सकिएको छ ।

३ स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लम्बाईको रहेको छ । उक्त पुल ६ करोड २८ लाख ९८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

२ स्पानको ट्वाङ्ग्रा खोला पनि ६४ दशमलव १५ मिटर लामो रहेको छ । यो पुल निर्माण गर्न ६ करोड ४९ लाख ६० हजार रुपैया खर्च गरिएको छ ।

२ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपियामा निर्माण सम्पन्न गरिएको छ ।

३ वटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपियाँ खर्च गरेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले बताए ।

तीन वटा पुलवाट मनहरी गाउँपालिकाका करिब २० हजार जनसंख्याले लाभान्वित हुनेछन् ।

Published : Sunday, 2024 June 9, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया