सभापति देउवासँग १०० कामदार पठाउनै पर्ने अव्यवहारिक व्यवस्था हटाइदिन अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा देउवाले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले समस्याबारे पार्टीले संसदमा व्यवसायीहरूका कुरा उठाउने बताएका छन् ।

सभापति देउवासँग एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक १०० श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको बताएका छन् । थापाले १०० जना पठाउनै पर्ने अव्यवहारिक नीति पुनरावलोकनका लागि सभापति देउवासँग अनुरोध गरेका छन् ।

म्यानपावर कम्पनीले बैंक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत पुनर्विचार गर्नुपर्ने अध्यक्ष थापाले बताएका छन् ।

सभापति देउवासँगको भेटमा उपसभापति पूर्णबहादुर खड्का, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

Published : Saturday, 2024 June 8, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया