निर्वाचनका कुरालाई लिएर निरन्तर बोलिरहने अपराधिसँग होसियार हुनुपर्छ : सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनको जनमतलाई स्वीकार गरेर पार्टीको अनुशासनमा रहेर अगाडि बढ्न निर्देशन दिएका छन् ।

शनिबार मकवानपुरको हेटौँड उप–महानगरपालिका १७ मा कांग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै अनुशासन र पद्धतिमा रहेर जानुपर्ने बताए ।

उनले भने, ‘निर्वाचनमा टिकट पाएर चाहे एउटा सदस्य होस्, चाहे माननीय होस्, चाहे वडाध्यक्ष होस् । निर्वाचन सबै साथीहरूको मन मिलाएर सके जित्ने, नसके हारेपछि अरुलाई दोष लगाएर हिँड्ने छुट छैन ।’

‘निर्वाचनमा चुनाव लडेपछि त जित्नै पर्छ । नजितेमा हार स्वीकार गर्नुपर्छ’, उनले भने, ‘परिणामको चिन्ता गरेर पर भाग्नु हुँदैन । यो राजनीतिक अनुशासन हो, मर्यादा हो । यो मर्यादा र अनुशासन सबैले मान्नुपर्छ ।’

बागमती प्रदेशसभाका सदस्य समेत रहेका बानियाँले भने, ‘पार्टीभित्र एउटा अनुशासन र मर्यादा राख्नुपर्छ । त्यो अनुशासन नहुने हो भने हाम्रो पार्टी चल्दैन ।’

‘निर्वाचनको परिणामलाई जनताले दिएको अभिमतलाई हार्दा पनि स्वीकार गर्ने जित्दा पनि सहज रुपमा ग्रहण गर्नका लागि अगाडि बढ्नुपर्छ’, उनले भने ।

‘त्यो लोकतन्त्रको मान्यता हो । चाहे पार्टी होस्, चाहे जनता होस्’, सभापति बानियाँले भने ।

उनले भने, ‘कांग्रेस समुद्र हो । अरु सानातिना खहरे खोला हुन् । बेलाबेलामा बोल्छन् धेरै । जनतालाई धोका दिने हुन् । पानीका फोका हुन् ती हराइहाल्छन् । यो हराउँदैन । निरन्तर चलिरहने पार्टी हो । यसले बिचार दिन्छ । व्यवहार दिन्छ । अनुशासन सिकाउँछ । यो पार्टीभित्र नेताहरूको कमीकमजोरी होला ।’

कांग्रेसभित्र धर्मको खोल आडेर केही अधर्मीहरू बसेको भन्दै सभापति बानियाँले त्यस्ता अपराधीहरूसँग जोगिनु पर्ने बताए

‘धर्मको खोल ओडेर आउनेहरू कहिले काहिँ अधर्मी हुन्छन् । यो पार्टीभित्र कोही कुरा धेरै गर्ने, काम नगर्ने, नेपाली कांग्रेसभित्र आन्तरिक निर्वाचन र पार्टीको निर्वाचन, जनताको निर्वाचनका कुरालाई लिएर निरन्तर बोलिरहने त्यस्ता अपराधिसँग होसियार हुनुपर्छ’, उनले भने ।

‘पार्टीमा आन्तरिक चुनाव हुन्छ भने नेता हुन्छ । पार्टीको विधान बमोजिम नेता चुन्छन्’, सभापति बानियाँले भने, ‘चुनीसकेपछि अर्को नेताले अर्कोको अस्तित्व स्वीकार गर्नुपर्छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो । त्यस कारण निर्वाचनमा पनि जनताको अभिमत हुन्छ ।’

उनले भने, ‘जनताले मत जाहेर गरिसकेपछि आफूले पाएको मतको सम्मान गर्ने हो । मत प्राप्त भएर निर्वाचन जितेन भने यता कता त्यो सर्वत्र फाइफाइ बोलेर हिँड्ने होइन ।’

‘जनताले मत दिएनन् भने हाम्रो पार्टीको अवस्था जनमत र परिस्थितिलाई हेरेर निर्णय गर्नुपर्छ’, सभापति बानियाँले भने ।

‘नेपाली कांग्रेसको क्रियाशीलको भेला कहाँ भइरहेका छौँ ? सत्य र ठीक, न्याय र ईन्साफको पक्षमा सत्य भनेको धर्म, धर्म भनेको के हो ? भन्दा सत्यधारण गर्नु भनेको धर्म हो’, उनले भने ।

‘त्यस कारण सत्यधारण गरेर हामी यहाँ बोल्नुपर्छ । झुठ र असत्यको यो ठाउँमा आएर बोल्यो भने त्यो चाहिँ भ्रम हुन्छ । भ्रमले नपार्टी बन्छ, नसमाज बन्छ, नघर बन्छ । घर पनि राम्रो हुँदैन’, उनले भने ।

‘हामीले सत्यको धारण गरेर आजको क्रियाशील भेलाबाट हाम्रा प्रशिक्षकले दिएका कुराहरू कांग्रेसका विषयमा बिचारमा लोकतन्त्रमा लामो अभ्यास गरेको पार्टी जसले लोकतन्त्र नमान्नेहरूलाई पनि लोकतन्त्रको बाटोमा हिँडायो । चाहे संसदीय पद्धतिमा विद्रोह गरेको माओवादी होस् । चाहे राजा खोज्ने राप्रपा होस् । चाहे संघीयता नमान्ने अहिलेको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी सबैलाई लोकतन्त्रिक जनताको बाटोमा शान्ति प्रक्रिया गरेर समृद्धिको यात्रामा लिएर नेपाली कांग्रेसले सबैलाई लिएर हिँडायो’, बानियाँले भने ।

Published : Saturday, 2024 June 8, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया