कांग्रेसमा भाँडभैलो गराउने क्रियाशील हो, ४ लाख हुँदा ३३ लाख, ८ लाख हुँदा २७ लाख : सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले क्रियाशील सदस्यता बढे पनि कांग्रेसको भोट झन् घटेको भन्दै चिन्ता जनाएका छन् ।

गृहजिल्ला मकवानपुरको हेटौँड- १७ मा कांग्रेसले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले ४ लाख क्रियाशील सदस्य हुँदा कांग्रेसको ३३ लाख भोट आएको भन्दै ८ लाख क्रियाशील सदस्यता थपिदा ६ लाख घटेर २७ लाखमा झरेको बताए । उनले क्रियाशील सदस्यता कांग्रेसभित्र भाँडभैला मच्चाउने पद्धति रहेको भन्दै चिन्ता जनाएका छन् ।

उनले भने, ‘प्रशिक्षण कार्यक्रममा पार्टीभित्रको आन्तरिक क्रियाशील सदस्यताको केही कुरा गर्न चाहन्छु । नेपाली कांग्रेसले जनताबाट पटक पटक बहुमत ल्यायो । कांग्रेसले ०४८, ०५६ सालमा लगायतमा बहुमत ल्यायो । कांग्रेस ०६४ मा अलिक सानो पार्टी भयो । फेरि ०७० मा कांग्रेस ठूलो पार्टी भयो । ०७४ मा कांग्रेसफेरि सानो भयो, कांग्रेस अहिले ०७९ ठूलो पार्टी भयो ।’

‘यो पार्टी सानो र ठूलो बन्ने क्रममा कांग्रेसमा क्रियाशील बनाउने क्रममा ०४८ देखि ०५६ सम्म आउँदा कांग्रेसको देशभरिमा क्रियाशील जम्मा ४ लाख थिए’, सभापति बानियाँले भने, ‘४ लाख हुँदा कांग्रेसले ३३ लाख मत पाएको थियो । आज कांग्रेसको ८ लाख क्रियाशील छ । तर, कांग्रेसको भोट २७ लाख छ । ६ लाख भोट घटेको छ ।’

सभापति बानियाँले गम्भीर प्रश्न उठाउँदै भने, ‘आज कांग्रेसको भोट घटेको छ, खस्केको छ । किन भने ? क्रियाशील कार्डमा भयो, मानिस क्रियाशील भएन । मान्छेमा राजनीतिक होइन, मानसिक विचलन आयो ।’

‘क्रियाशील बोक्ने कांग्रेस, कांग्रेसको सिद्धान्त बोक्ने अनि कांग्रेसलाई निर्वाचनको बेलामा त्यो क्रियाशील बोक्नेले क्रियाशीलको जिम्मेवारी बहन नगर्ने । यहाँ (हेटौँडा– १७) करीव २ सय क्रियाशील छन् । नवीकरण गर्न चाहनेको नवीकरण गर्नुस्’, उनले भने, ‘नवीकरण गर्न नचाहनेको नवीकरण नगर्नुस् ।’

बानियाँले भने, ‘क्रियाशीलको कारणले कांग्रेसले चुनाव जित्दैन । उम्मेदावरको जनताप्रतिको प्रतिवद्धता, उम्मेदवारप्रति जनताको विश्वास, अनि क्रियाशील सदस्य जति आइरहेका छन् थोरै भए पनि त्यसको उच्च मनोवलले जित्दछन् ।’

‘धेरै क्रियाशील बनाएर युद्ध जितिदैन । भाँडभैलो हुन्छ । कांग्रेसभित्र यो भाँडभैलो अनावश्यक क्रियाशील पनि हो’, बागमती प्रदेशसभाका सदस्य समेत रहेका सभापति बानियाँले भने ।

Published : Saturday, 2024 June 8, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया